वडाअध्यक्षको कार्यकक्षमा आगजनी
वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारेको वडा कार्यालयमा आगजनी भएको छ । पातिहान्लास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी भएको हो ।
वडाअध्यक्षको कार्यकक्षमा भएको आगजनीबाट कम्प्युटर, फर्निचरसहितका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् । आगजनी कसले र किन गरेको भन्ने बारेमा खुलेको छैन् ।
गुर्भाकोट नगरपालिका–४ का वडाअध्यक्ष प्रसन्न शाहले आगजनी कसले गरेको भन्ने बारेमा जानकारी नभएको बताए ।
‘कार्यालयको मुल गेट र कार्यकक्षको ताला तोडिएको छ’ वडाध्यक्ष शाहले आरोप लगाउँदै भने, ‘काम गरेको मन नपराउने विपक्षी पार्टीका कार्यकर्ताको काम हुनसक्छ ।’
आगजनीबाट करिब पाँच लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । वडा कार्यालयमा आगजनी भएसँगै वडाबासीले तत्काल आवश्यक छानबिन हुनुपर्ने माग राखेका छन् ।
आगजनी गुर्भाकोट नगरपालिका