अर्थ समाज

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

बाजुरा  । बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् । 

 

सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ । 

 

उनका श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपाएरै त्यही छाप्रोमा ज्यान गुमाएको सपना गन्धर्वले गुनाेस गरिन् । 

 

उनले भनिन्, 'अर्काको छाप्रोमा बस्दै आएकी छु, मसँग जग्गा जमिन मात्र हैन, नागरिकतासमेत छैन ।' नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता पाउनबाट समेत वञ्चित भएको उनले बताइन् । 

 

उनको नागरिकता बनाउन सनाखत बस्ने आफन्त नभएको र माइती सबैको मृत्यु भइसकेकाले आफूले अहिलेसम्म नागरिकता पाउन नसकेको बताए । 

 

नागरिकता बनाउनका लागि स्थानीय जान्नेबुझ्नेलाई पटक/पटक आग्रह गरिन् । तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाको भनाइ छ । 

 

नागरिकता बनाउन कर्मचारीले माइतीको नागरिकता ल्याउन भन्छन् तर कालिकोटमा रहेका माइतीका सबै जनाको मृत्यु भइसकेकाले समस्या परेको सपनाको गुनासो गरिन् ।

 

छोरालाई पढाउनका लागि आर्थिक अभावमा झोला किन्ने पैसा नभएर हातमा नै किताब बोकेर विद्यालय जाने गर्दछन् । 

 

सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो । पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दीपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यही घरमा बस्ने गरेको बताए । 

 

श्रीमानको मृत्युपछि सपनाको काँधमा दुई छोरा पालनपोषण गर्ने एकल जिम्मेवारी थपियो । श्रीमान् हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो । श्रीमान्को मृत्युपछि मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको सपनाले बताइन् । 

 

सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माविमा कक्षा २ मा पढिरहेका छन् । हातमा पैसा नहुँदा कपी, कलम र विद्यालय लग्ने झोलासमेत छोरालाई किन्न नसकेको उनकाे भनाइ छ । 

 

बूढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले अल्पसंख्यकमा रहेका गन्धर्व समुदायका मानिसको जीवनस्तर सुधार र नागरिकता बनाउन पहल गर्ने बताए। 

बाजुरा सामाजिक सुरक्षा भत्ता

विशेष