अर्थ

०७४ सालमा सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढ्यो

०७४ सालमा सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं । २०७४ सालमा सुनको भाउ तोलामा झण्डै ३ हजार रुपैयाँ बढेको छ । चाँदी भने तोलामा ७० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको हो ।

 

गएको वर्ष वैशाख १ गते तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन चैतको अन्तिम दिन ५८ हजार ५ सय रुपैयाँ पुग्यो । वैशाखमा घटबढ हुँदै ५३ हजार ३ सय रुपैयाँसम्म झरेको सुनको भाउ जेठमा भने उकालो लागेको थियो । असारमा फेरि घटेर तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि विस्तारै बढेर भदौमा तोलाको ५७ हजार ८ सय रुपैयाँसम्म पुग्यो ।

 

असोज, कात्तिक र मंसिरमा घटेको सुनको भाउ पुसको सुरुदेखि भने उकालो लागेर तोलाको ५७ हजारसम्म पुगेको थियो । यस्तै माघमा घटबढ हुँदै तोलाको ५७ हजार ८ सय रुपैयाँसम्ममा कारोबार भएको सुनको भाउ बढ्ने क्रम फागुन र चैतमा पनि रोकिएन । चैत २९ गते गएको बिहीबार सुनको भाउ यो वर्षकै महंगो ५८ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । यो वर्षको कारोबार पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । 

 

आइतबार सुन तोलाको ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै गएको वर्ष वैशाख १ गते तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी वर्षको अन्तिम दिन चैतमा तोलाको ७ सय ४५ रुपैयाँमा झरेको थियो । चाँदी आइतबार भने तोलामा ५ रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ

विशेष