अर्थ शेयर

बिमा कम्पनीहरु एकाएक उचालिंदा नेप्सेमा छायो हरियाली, बजार बढ्नुमा के छ कारण ?

बिमा कम्पनीहरु एकाएक उचालिंदा नेप्सेमा छायो हरियाली, बजार बढ्नुमा के छ कारण ?

काठमाडौं । बिमा कम्पनीहरु उचालिंदा सेयर बजारमा नयाँ रौनक देखिएको छ । यसअघि बेस्सरी घटेको बिमा कम्पनीहरुमा मौका छोप्नेहरुले २ दिनमै आकर्षक लाभ लिएका छन् । तर निरन्तर घटेको बजारमा बिमा कम्पनीहरु मात्र बेस्सरी उचालिंदा बजार कत्तिको दिगो हुन्छ भनेर थाहा पाउन सुक्ष्म अध्ययन गर्न आवश्यक छ । जे होस्, निरन्तर बजार घट्दा आहात बनेका लगानीकर्तालाई अहिले बल्ल राहत मिलेको छ । सस्तोमा किनेर महँगोमा बिक्री गर्नेले लाभ हासिल गरेका छन् ।
 

 

समग्र बिमा कम्पनीहरु उचालिंदा बाँकी अधिकांश समूहहरुका सूचकमा पनि सकारात्मक प्रभाव देखिएको छ । तर पुँजी बजारमा वर्चस्व रहेको बैंकिङ समूहमा भने खासै उत्साह आउन सकेको छैन । माइक्रोफाइनान्स र होटेल समूहमा भने राम्रै बढोत्तरी देखिएको छ । समग्र बजार माथि जान बैंकिङ समूहमा पनि सुधार हुन जरुरी छ । 

 

नयाँ वर्ष लागेसँगै पुँजी बजारमा नयाँ उत्साह थपिएको हो । सरकारी ढुकुटीमा रहेको पैसा बजारमा आउने क्रमले अब तेजी लिनेछ । तरलता अभाव पनि विस्तारै सहज हुँदै जाने अपेक्षा छ । यसले बजारलाई उचाल्न सहयोग पुगेको हो । तर पुँजी बजारमा महत्वपूर्ण प्रभाव राख्ने बैंक ब्याजदर घटेको अवस्था भने होइन ।


धितोपत्र बोर्डले सेमि अनलाइन प्रणाली सुरुवात गरेकाले पनि लगानीकर्ताहरु केही उत्साहित भएको विश्लेषण गरिंदैछ । यसले भविष्यमा पूर्ण अनलाइन ल्याउनका लागि थप सहजीकरण गरेको छ । प्रविधिमा निरन्तर सुधार हुँदै गएकाले बजारको भविष्यका बारेमा लगानीकर्ताहरु थप सकारात्मक बन्न पाएका हुन् । 
 

 

यसैगरी, अब धमाधम चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट आउन थाल्नेछ । तेस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुले आकर्षक नाफा कमाउने लगानीकर्ताहरुको विश्वास हो । तर एकाध बाहेक सूचीकृत कम्पनीहरुको रिपोर्ट सार्वजनिक भइसकेको अवस्था भने होइन । 
 

 

कतिपयले पुँजी बजारमा अब विस्तारै सिजनको प्रभाव पनि देखिन थालेको बताइरहेका  छन् । अब ३ महिनापछि नयाँ आर्थिक वर्ष सुरु हुनेछ । त्यसपछि कम्पनीहरुले वर्षभरिको कमाईको विवरण सार्वजनिक गर्नेछन् । त्यसपछि लाभांश घोषणा गर्ने र साधारण सभाबाट अनुमोदन गराउने प्रक्रिया सुरु हुनेछ । त्यही भएर अब विस्तारै सेयर बजारमा लगानीकर्ताहरु आकर्षित हुने अनुमान गरिएको हो । 

 

नेप्से सूचक मंगलबार ३३.६१ अंकले बढेर १३३१.१८ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.५९% ले बढेको हो । कुल १६६ कम्पनीको ९६ करोड २८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यो कारोबार रकम निकै उत्साहप्रद हो । कारोबार रकम अधिक हुँदा बजारमा कारोबारी प्रशस्त आएको विश्लेषण गर्न सकिन्छ । कुल १६६ कम्पनीको १९ लाख १० हजार २२८ कित्ता सेयर किनबेच भएका छन् । 
 

 

नेप्सेमा १० वटा समूहको सेयर कारोबार भएकामा ट्रेडिङ बाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै बिमा समूह ३६०.४३ अंकले बढेको छ । यता, माइक्रोफाइनान्स समूह १२०.११ अंक र होटेल समूह ८६.०१ अंकले माथि लागेका छन् । बैंकिङ समूहमा भने १२.२ अंकको मात्रै तेजी आएको छ । 
 

 

सबैभन्दा धेरै सूर्या लाइफ इन्सुरेन्सको ५ करोड ९९ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाली लाइफ इन्सुरेन्स र कुमारी बैंक परेका छन् । 

 

              कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 
 

सेयर बजार नेप्से आकर्षक लाभ

विशेष