अर्थ शेयर

पाँच दिनमै १०८ अंकले बढ्यो सेयर बजार

पाँच दिनमै १०८ अंकले बढ्यो सेयर बजार

यो साता सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। पाँच दिनको अवधिमा १०८ अंकले नेप्से बढेको छ। साताको पहिलो दिन आइतबार १२८० अंकमा रहेको नेप्से अन्तिम दिन बिहीबार १३८८ अंकमा पुगेको छ।

 

अघिल्लो साताको तुलनामा भने ११० अंकले नेप्से बढेको हो। अघिल्लो साता बन्द हुँदा नेप्से १२७७ अंकमा थियो। यस साता कारोबार भएका पाँचै दिन नेप्से हरियो अंकमा रह्यो। पहिलो दिन आइतबार तीन अंकले, सोमबार १७, मंगलबार ३४, बुधबार ३२ र बिहीबार २५ अंकले नेप्से बढ्यो।

 

महिनौंदेखि घटिरहेको बजारमा अघिल्लो साता केही सुधार देखिएपछि यो साता लगानीकर्ता आशावादी रहे। जसले गर्दा सेयर बजारमा ठूलो अंकको वृद्धि देखिएको हो।

 

विगत तीन सातालाई हेर्ने हो भने नेप्से परिसूचक २२० अंकले बढेको छ। चैत १२ गते ११६८ अंकसम्म नेप्से झरेको थियो।

 

परिसूचक मात्रै नभई कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस साता ४ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भयो। कारोबार रकम गत साताको भन्दा ३८ प्रतिशत बढी हो। गत साता दुई अर्ब ९५ करोडको सेयर किनबेच भएको थियो।

 

यस साता नेप्सेमा १८१ कम्पनीहरुको कारोबार भएको छ। गत साता १८३ कम्पनीहरुको कारोबार भएको थियो। यो साता बिमा समूह सबैभन्दा धेरै ७६८ अंकले उक्लिएको छ।

 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०८.१६ अंकले बढेर अन्तिम दिन १३८८.३१ अंकमा पुगेको छ। जलविद्युत २०५, होटल १९७, उत्पादन १०२, लघुवित्त २११, बैंकिङ ७३, विकास बैंक ४० र वित्त समूह ४० अंकले बढेका छन्। व्यापार भने ३ अंकले घटेको छ। क वर्गका कम्पनीहरुको सूचक सेन्सिटिभ २१ अंकले घटेको छ।

 

यस साता कारोबार रकमका आधारमा सूर्य लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोड ४२ लाख रुपैयाँको कारोबार भयो। कुमारी बैंकको ११ करोड तथा युनाइटेड इन्स्योरेन्सको १० करोडको सेयर किनबेच भयो। चिलिमे जलविद्युत कम्पनी र नेपाल बैंक पनि उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

 

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो। उसको चार लाख २४ हजार कित्ता सेयर किनबेच भयो। कारोबार संख्याको आधारमा १७९७ पटकको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो।

 


यस साता सूचिकरण तर्फ निम्न कम्पनीको धितोपत्र सूचीकृत भएको छ ।


              

कम्पनीको नाम      सूचिकृत धितोपत्रको                   किसिम     सूचीकृत धितोपत्र संख्या
एन आई सी एसिया डिबेन्चर २०८१/८२             साधारण       30,00,000
सिटिजन्स म्युचुअल फण्ड १   
       साधारण           
                             8,20,00,000
एन आई सी एसिया ग्रोथ फण्ड        साधारण                             8,35,20,000



     

सेयर बजार नेप्से वृद्धि

विशेष