गुण्डा नाइके दीपक मनाङ्गे जेल चलान , तीन वर्षसम्म जेलमै रहने
काठमाडौं । गुण्डा नाइके एवं प्रदेश ४ का सांसद दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार बेलुकी काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका उनलाई शुक्रबार डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश सुनाएको हो ।
गएको माघ महिनामा ज्यान मार्ने उद्योगमा उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो ।गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो ।
त्यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार उनले २ वर्षको सजाय भोगिसकेकाले अब ३ वर्ष उनी जेलमा रहनेछन् ।
२०७८ साल वैशाख ६ गतेसम्म उनी जेलमा रहने थापाले बताउनुभयो । अर्का गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेपछि उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका थिए ।