प्रदेश ३

कराेडाैं लगानी गरेर 'वनवास'

कराेडाैं लगानी गरेर 'वनवास'

चितवन । कुमरोजमा पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल निर्माणको क्रम शुरु भएको छ । 

एक जना संरक्षणकर्मी वासु ढुंगानाले करिब रु १० करोडको लगानीमा खैरहनी नगरपालिका–१३ कुमरोजको इचर्नीमा अहिले होटल ‘वनवास’ निर्माण गर्दै छन् 

साना होटल भए पनि ठूलो लगानीका होटल यहाँ थिएनन् । पर्यटक आकर्षित भएसँगै व्यवसायीसमेत ठूला लगानीका होटल खोल्न आकर्षित भएका हुन् । 

सन् २०१८ भित्रैमा सञ्चालनमा ल्याउने गरी निर्माण हुँदै गरेको होटल वातावरणमैत्री, स्थानीय कलासंस्कृति झल्कने खालको र कलात्मक हुने सञ्चालक ढुंगाना बताउँछन् । 

तीन जनाको लगानीमा ३२ कोठा रहनेगरी उक्त होटल निर्माणको काम करिब ५० प्रतिशत सकिएको छ । निर्माणका क्रममा हेर्दा थारुहरुकै पुरानो घरको शैलीमा टाँडे घर, छाना काठ र टायल(खपडा) प्रयोग गरिएको छ । हरेक कोठा एकतलाका छन् । 

बाढी र वन्यजन्तु आउँदासमेत असर नगर्ने र भूकम्पप्रतिरोधी, अपांगमैत्री घर बनाइएको ढुंगाना बताउँछन् ।  

तीन बिघा क्षेत्रफलमा बन्दै गरेको उक्त होटलमा चराचुरुंगीको समेत राम्रो बासस्थान बनाउने योजना रहेको छ । पाँच–छ वर्ष अघिदेखि नै रुखबिरुवा रोपेर जंगल बनाइएपछि अहिले होटलको काम शुरु गरिएको हो । 

चराहरुले खान मनपराउने फलफूलका बिरुवा लगाइएको छ । चितवनको सौराहाभन्दा पाँच किलोमिटर पूर्वीक्षेत्रमा पर्ने कुमरोजमा करोडौं लगानीमा होटल निर्माणको क्रम धमाधम शुरु भएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए। 

उनका अनुसार पछिल्लाे समयमा कुमरोज सौराहापछिको आकर्षक पर्यटकीय क्षेत्र बन्दै गएको छ । त्यसैले सौराहाका सुविधायुक्त होटलकै तुलनामा यहाँ होटल रिसोर्टको निर्माण कार्य तीव्र भएको हो । हाल यहाँ होमस्टेमा पर्यटक बस्छन् । 

गुरुङका अनुसार कुमरोजको सिम्रेनीमा पनि होटल निर्माणको काम शुरु भएकाले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने छ । कुमरोजमा हाल जिप सफारी, हात्ती सफारी, डुंगा सफारी तथा पैदल वाक गरेर पर्यटक गैँडा र बाघलगायत जंगली जनावर हेर्ने गर्छन् । 

चितवन मेडिकल

विशेष