एसईई विद्यार्थी हत्या प्रकरण: प्रहरीसहित तीन जेल चलान
वीरेन्द्रनगर । सुर्खेतको पञ्चपुरी नगरपालिका-३ चौरकी गोरीकला रोकायको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई जेल चलान गरिएको छ। जिल्ला अदालत सुर्खेतको आदेशअनुसार अभियुक्त तीन जनालाई मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार थप प्रमाणहरु अदालतमा पेश गरेसँगै मुद्दामाथि मंगलबार प्रारम्भिक सुनुवाइ भएको थियो। थुनछेक आदेशका लागि भएको सुनुवाइका क्रममा अदालतले उनीहरुमाथि थुनी कारवाही गर्न आदेश दिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार विरेन्द्रबहादुर मल्लले बताए।
गोरीकला हत्या अभियोगमा दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८ माँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोला पक्राउ परेका थिए। मल्लका अनुसार उनीहरुलाई मंगलबार नै जिल्ला कारागार सुर्खेतमा राखिएको छ।
अदालतमा लक्ष्मी र खुमप्रसादको तर्फबाट अधिवक्ता धर्मानन्द नाथ र कोइरालाको तर्फबाट अधिवक्ता भूषण मानन्धरले मुद्दा लडेका थिए। स्रेस्तेदार मल्लका अनुसार सरकारी वकिल रत्नप्रकाश गिरीले गोरीकलाको मुद्धामा बहस गरेका थिए।
जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार गोरीकला हत्या अभियोगमा पक्राउ परेका तीन जनामाथि जवरजस्ती करणी र कतव्र्य ज्यान मुद्धा चलाइएको छ। एसईई परीक्षा दिने क्रममा पञ्चपुरी–५ बाबियाचौंरस्थित डेरामा बस्दै आएकी गोरीकला गत चैत १३ गते मृत भेटिएकी थिइन्।
हत्या