अर्थ शेयर

पुँजी बजारमा उतारचढाव, धेरैको जिज्ञासा अब कता जाला ?

पुँजी बजारमा उतारचढाव, धेरैको जिज्ञासा अब कता जाला ?

काठमाडौं । पुँजी बजार तल माथि गर्ने क्रमले बुधबार पनि निरन्तरता पाइरहेको छ । खुल्ने बित्तिकै एकैछिन हरियो देखिएको नेप्से केही बेरपछि फेरि रातो हुन पुगेको थियो । पौने १ बजेपछि पुनः बजारले हरियो रंग देखाउन थालेको छ । नयाँ वर्ष लागेसँगै चुलिएको बजारले सोमबारदेखि बिक्री दबाब सामना गर्नु परेको हो ।

 

छोटो समयमा मनग्ये नाफा कमाएकाहरुले धमाधम सेयर बेच्न थालेपछि नेप्से केही दबाबमा परेको हो । त्यसो त बिक्रेताकै अनुपातमा क्रेताहरु पनि आइरहेका छन् । जसले बजारलाई निकै हदसम्म सन्तुलित बनाइदिएको छ । अब विस्तारै सिजन सुरु भएकाले बजार दिगो वृद्धि तर्फ अघि बढ्ने धेरैको बुझाई छ ।

 

बैंक ब्याजदर, अधिक आपूर्तिले बजारलाई केही अप्ठेरोमा पार्दै आएको भए पनि लगानीकर्ताको मनोविज्ञान सबैभन्दा प्रमुख पक्ष रहेको पछिल्लो बजारको प्रवृत्तिले प्रमाणित गरिदिएको छ । लगानीकर्ता सकारात्मक हुने हो भने ब्याजदर र अधिक आपूर्तिको पनि खासै समस्या नरहने देखिएको छ । 


 
नेप्से सूचक १ बजेर १० मिनेट आसपासको अवस्था अनुसार करिब २ अंकले बढेर १३९६ विन्दु वरिपरी कारोबार भइरहेको छ । झन्डै २४ करोड रुपैयाँको सेयर किनबेच भइसकेको छ । बेस्सरी बढेको बजार अहिले केही सुस्त भए पनि फेरि गति लिने धेरैको अपेक्षा छ ।

 

तेस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुले राम्रै प्रगति गरेकाले पनि लगानीकर्ता थप आशावादी बन्न सक्ने देखिएको छ । सिजनको प्रभाव पनि विस्तारै पर्न थाल्ने आशा गर्न सकिन्छ । 

पुँजी बजार नेप्से

विशेष