अर्थ

२ वर्षमा पूरा हुने भनेको प्रसारण लाइन ८ वर्षसम्म अलपत्र, सरकार र ठेकेदारकै लापरवाही

२ वर्षमा पूरा हुने भनेको प्रसारण लाइन ८ वर्षसम्म अलपत्र, सरकार र ठेकेदारकै लापरवाही

चरिकोट । सिंगटी– लामोसाँघु प्रसारण लाइन अहिले अलपत्र अवस्थामा रहेको छ । दुई वर्षमा पूरा गर्ने गरी आठ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पुरा हुन नसक्दा अलपत्र अवस्थामा रहेको हो । 

 

प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेरगइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच वर्षदेखि करोडौं रुपैयाँको वार्षिक घाटा व्यहोर्दै आएको पनि छ । 

 

सिंगटी–लामोसाँघु प्रसारण लाइन १३२ केभी क्षमताको हो । ठेकेदारको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म निर्माण अलपत्र छ । प्रसारण लाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गर्दै आएको छ । 

 

सुरुमा ठेक्का सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण पूरा गर्ने सर्त थियो, सम्झौता भएको अहिले आठ वर्ष वितिसक्यो, अझै कहिले प्रसारण लाइन बन्छ भन्ने टुंगो छैन, स्थानीयवासी बताउँछन् । 

 

स्थानीयवासीका अनुसार, ठेकेदारसँग प्राधिकरणले चार पटक सम्झौता नवीकरण गरिसकेको छ । चौंथो पटक थपिएको समयानुसार २०७५ जेठमा काम पूरा गरिसक्नु पर्नेछ तर, उक्त समयमा पनि प्रसारण लाइन पूरा हुने संकेत देखिएको छैन । 

 

विसं २०६७ बाट निर्माण थालिएको प्रसारण लाइन शुरुका दुई वर्ष तीव्र गतिमा अघि बढेको थियो । विसं २०६९ देखि २०७३ चैतसम्म आर्थिक संकट देखाउँदै ठेकेदारले पूर्णरूपमा निर्माण कार्य रोक्यो ।

 

सबीचमा प्राधिकरणले ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार नियुक्त गर्ने तयारी थालेको पनि थियो तर नयाँ ठेक्कामा जाँदा लामो समय लाग्ने हुँदा थप ढिलो हुने कारण देखाउँदै त्यस क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्ने निजी प्रवद्र्धकले पूरानै ठेक्कालाई निरन्तरता दिन आग्रह गरेका थिए । 

 

प्राधिकरण, निजी क्षेत्र र ठेकेदारबीच भएको सझदारी अनुसार गत वैशाखबाट ठेकेदारले प्रसारण लाइन निर्माणको काम पुनः सूचारु गरेको छ । त्यो पनि अरावलीको नेपाली एजेन्ट बनेर मार्बूमा निर्माणाधिन ४० मेगावाटको खानी खोला–१ जलविद्युत् आयोजनाका प्रवद्र्धकबाटै । उनीहरु आफैंले गरेको काम पनि सुस्त देखिएको छ । 

बिजुली सिंगटी– लामोसाँघु प्रसारण लाइन अलपत्र

विशेष