प्रदेश ३

संयुक्त राष्ट्रसंघका पूर्व उच्चअधिकारी पक्राउ

संयुक्त राष्ट्रसंघका पूर्व उच्चअधिकारी पक्राउ

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का पूर्वउच्चअधिकारी पिटर जोन डालग्लिस बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् ।

 

बालबालिकाका क्षेत्रमा सामाजिक काम गरी अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेका पिटरलाई शनिबार काभ्रे मदनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ६० वर्षीय पिटर क्यानेडियाली हुन् ।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी अधिकृत पिटरको प्रोफाइल हेर्दा आफैं आश्चर्यमा परेका छन् । पिटरले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानी सहयोग गर्ने नाममा काभ्रेको मण्डन देउपुर नगरपालिकामा हिमालयन कम्युनिटी फाउन्डेसन नामको संस्था खोलेर बसेका थिए ।

 

 प्रहरी अनुसन्धानबाट विपन्न बालबालिकालाई शिक्षासँगै विदेश पठाइदिने नाममा उनले यौन दुराचार गर्दै आएको खुलेको छ । उनी मण्डन देउपुरको १४ रोपनी जग्गाको कम्पाउन्डभित्र बस्दै आएका थिए । 

 

पिटरले त्यहाँभित्र रहेका बालबालिकालाई दुराचार गर्दै आएको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो  । ‘विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने नाममा पिटरले धेरैलाई यौन दुराचार गरेको हाम्रो ठम्याइ छ । 

 

उनी एकताका यूएनमा काम गरेबापत नीलो राहदानी बोकेर विश्व सयर गरेका व्यक्ति हुन्,’ पिटरबारे जानकारी दिँदै सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले भने । 

 

पिटरले आवरणमा विशेषगरी युद्धपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आए पनि बाल यौन दुराचारमा भने लिप्त रहेको प्रहरीको दाबी छ । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ  ।

पक्राउ पिटर जोन यौन दुराचार

विशेष