नवीन अभिलाषीका तीन कविता
सान्त्वना
कुन ढुंगा होला
जो ढुंगासंग नठोकिएको ।
तिमीसंग पनि छ पहाड र रगताम्मे औलाहरु
मौन तर थर्थराइरहेका ओठ
र तलाउ भित्र छन्भयग्रस्त एक जोर आँखा
सबै अक्षर नकाटिएर
कहाँ बन्छ अर्थपुर्ण बाक्य ?
सधै नचोईटिएर – कहाँ उदाउन पाउँछ चन्द्रमा ?
र कुन किनार होला नदीको
जो भेलहरुले नभत्किएको ।
सबै आफन्त हुँदैनन साथमा भएकाहरु
साथमा नभएकाहरु सबै पराई हुँदैनन् ।
झर्छु भनेर नफूलेको फूल जस्तो
हाँसिदिनु जुनको दागसंग
निभ्नु अघिको दियो झै तेजस्वी बनिदिनु
र बगेर जाने पानीले धोईदिनु आँसुहरु ।
किनकीकुन फलाम होला
आगोमा नखारिएको ?
कुन नदि होला – निर्जन ठाउँमा नहराएको
र अग्ला छाँगाबाट नखसेको ?
कुन ढुंगा होला
जो ढुंगासंग नठोकिएको ?
एउटा रुख
यहि हावामा निसास्सिएर
ब्ल्याक होल तिर भागिरहे जस्तो छु
म – यो समय
जलेर खाग भएको मनको टुक्रा छ हातमा
ओठबाट फुस्किन बाँकि
कारुणीक चित्कार छ
र खुट्टामा लपेटिएको उहि पुरानो बाटो छ ।
तर आँखाहरुबाट
पुछिएको छैन तिम्रो तस्वीरको स्केच ।
अर्धकट्टि जस्तो सम्बन्ध
र बाढिले कटान गरेको खेत जस्तो अनुहार लिएर
म उभिएको छु
तिमीले झुण्डिएकै रुख अगाडी ।
वर्षौ देखि चुपचाप छ यो रुख
युद्धमा खुट्टा गुमाएको घाईते सिपाही झै
सपनाहरुको बैशाखी लिएर उभिरहे जस्तो
यो रुख रातभर रुन्छ की खै
प्रत्येक विहान
पातहरुमा आँसुहरु टल्किरहेको देख्छु ।
लामो प्रतिक्षापछि...
त्यही पुरानो कुर्सीमा
छोडेर फर्किएको छु – एक अंगालो फूल
एक दिन जरुर उठाउनेछौ प्रेमले ।
सन्नाटाहरु बोकेर फर्किएको छु – आफ्नै भुगोल
कुनै दिन भाँचेको थिँए
तिम्रो लागि सम्भावनाकाफूलहरु,
अचेल भाँचिएको डाँठमुन्तिरटुसाईरहेछमुना।
हिडेँपनि एउटा बाटो
नभुल्नु रहेछ अनेक यात्राहरु – चाहिने रहेछ ।
संसारमा एउटै छ भनेर नदी
किनारै किनार लागेको थिएँ तिम्रो पछि,
तर दोभानमा पुगेर
अचानकतिमी अर्को नदीको अंगालोमा हरायौ
म अलमलिएँ – प्रतिक्षाको लामावर्षहरु सम्म
काँडाको ओछ्यान जस्तो प्रत्येक पल
र खै कसरी बाँचे – एउटा डरलाग्दो अनकन्टार समय ।
एक दिन महसुस हुनेछ तिमीलाई
कर्कलाको शित जस्तो समय
लिग छोडेको रेल जस्तो सम्बन्ध
र पुरानो धर्मग्रन्थ जस्तो मेरा यादहरुको अध्याय ।
नवीन अभिलाषी
कविता साहित्य नवीन अभिलाषी