Technology अर्थ कर्पोरेट

गतवर्षभन्दा ४.७२ प्रतिशत बढी नाफा भएको नेपाल टेलिकमको दाबी

गतवर्षभन्दा ४.७२ प्रतिशत बढी नाफा भएको नेपाल टेलिकमको दाबी

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिने मुनाफा रकम प्रस्तुत गरेको छ । टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको विवरण प्रस्तुत गरेको हो । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको छ ।


    कम्पनीले गत साउनदेखि चैत मसान्त सम्मको वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको छ । 


    समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो । 
    यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ । 


  हाल सेवाग्राहीहरुको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ । साथै कम्पनीले हालको तीब्र प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचीअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेजहरु ल्याउनुका साथै समयानुकुल शुल्कमा परिमार्जन गर्दै आइरहेको छ । यसले गर्दा सेवा विक्रीको आम्दानीमा अस्थायी रुपमा प्रभाव पर्न गएको छ । हालको अवस्थामा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ओटीटी सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको छ, जुन विश्वव्यापी रुपमा देखिएको प्रवृत्ति नै हो । यद्यपि हाल कम्पनीको आर्थिक अवस्था सन्तोषजनक नै रहेको छ ।  


    आगामी दिनमा समेत कम्पनीको आर्थिक अवस्था मजबुत बनाउनका लागि कम्पनीले डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु दि होम ९ँत्त्ज्०, फोर जी सेवाको विस्तार लगायतका विभिन्न कार्यक्रम अघि बढाएको छ ।                                              
 

नेपाल टेलिकम

विशेष