गोरे पक्राउ परेपछि गृहमन्त्री बादलले भने, ‘अनुसन्धान जारी छ, अरु पनि समातिन्छन्’
सुर्खेत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीको सबै जालो तोडिने बताएका छन्।
आज सुर्खेतमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ पर्नु ठूलो उपलब्धि भएको भन्दै यससँगै तस्करीको बृहत् जालो तोडिँदै जाने दाबी गरे ।
‘सुन तस्करहरुको सञ्जालबारे विस्तृत रुपमा अध्ययन भइरहेको छ’, उनले भने, ‘अन्य तस्करहरु पनि अनुसन्धानबाट पत्ता लगाएर पक्राउ गर्नेछौं र कानुनी कारबाहीको दायरामा ल्याउनेछौं।’
कर्णाली प्रदेशस्तरीय सुरक्षा संयन्त्रको भेलामा सहभागी हुन आएका गृहमन्त्री थापाले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले सामाजिक विकृतिहरु अन्त्य गर्नुका साथै चोरी, तस्करी, सिन्डिकेट लगायतका अपराधजन्य कार्यलाई निरुत्साहित गरिने समेत प्रतिबद्धता व्यक्त गरे।
मुलुकको विकास नहुनुको प्रमुख कारणहरुमध्ये सबै क्षेत्रमा रहेको सिन्डिकेट पनि एउटा कारण भएको बताउँदै उनले सबैखाले सिन्डिकेट हटाउन सरकारले काम गरिरहेको जिकिर गरे।
गृहमन्त्री बादल सुन तस्करी गोरे पक्राउ