अपराध सुरक्षा भिडियो

काठमाडौं प्रहरी प्रमुख विश्वराजले भनेः विश्वकपमा बाजी राख्नेलाई समात्न केही समय लाग्छ (भिडियो)

काठमाडौं प्रहरी प्रमुख विश्वराजले भनेः विश्वकपमा बाजी राख्नेलाई समात्न केही समय लाग्छ (भिडियो)

काठमाडौं । काठमाडौंमा पछिल्लो समय आपराधिक घटनामा केही कमी आएको प्रहरीको तथ्यांकले देखाउँछ ।

 

त्यसो त राजनीतिक शक्तिको आडमै आपराधिक गतिविधिमा संलग्न गर्दैआएका ठानिएका दीपक मनांगे, गणेश लामालगायत पक्राउ परेपछि ससाना आपराधिक समूह प्रायः निष्क्रिय रहेको प्रहरीको बुझाइ छ । प्रहरी भन्छ, आपराधिक घटना पूर्णरूपमा निराकरण गर्ने काम जटिल हो ।

 

जे हास्, काठमाडौं उपत्यकाको शान्ति, सुव्यवस्थामा सकारात्मक रूपमा प्रगति भएको काठमाडौं महानगरीय प्रहरी परिसरको भनाइ छ । परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलसँग हामीले यही सन्दर्भमा अन्तर्वार्ता गरेका छौँ ।

 

उनका अनुसार स्थानीय नागरिकहरूले आपराधिक गतिविधि रोक्न प्रहरीलाई उत्साहजनक सहयोग गर्दैआएका छन् । ‘म काठमाडौंमा आउनुअघि यहाँको अवस्था निकै जटिल छ भन्ने लागेको थियो’, एसएसपी पोखरेलले भने, ‘तर, स्थानीय जनतालाई साथ लिएर सहकार्य गर्न थालेपछि मैले सोचेभन्दा राम्रो सहयोग मिल्यो । राम्रो उपलब्धि पनि हासिल भयो ।’

 

एसएसपी पोखरेलले यसबीचमा ‘सिभिल’ हरूले धेरै सहयोग गरेको पनि बताए । अन्तर्वार्ताको क्रममा उनले स्थानीय वासिन्दाले प्रहरीलाई निकै सहयोग गरेको बताउँदै स्थानीयहरूकै सहयोगबाट आफूहरूलाई काम गर्न सहज भएको उल्लेख गरे । 

 




फुटबलको बहानामा अपराध !


रुसमा विश्वकप फुटबल सुरु हुँदै गर्दा नेपालमा भने टिकट बेचेरै सार्वजनिक स्थालमै फुटबल देखाउन थालियो । जिल्ला प्रशासनले यस्तो गतिविधि रोक्ने निर्णय गर्नासाथ प्रहरीले टिकट बेचेर फुटबल देखाउनेलाई रोक्यो ।

 

यद्यपि विश्वकप फुटबल चलिरहँदा भूमिगत शैलीमै सट्टेबाजीको काम भने चल्दै आएको छ । र, त्यस्तो सट्टेबाजीको काम सम्बन्धितको संलग्नतामा हुँदै आएको छ । हामीले एसएसपी विश्वराज पोखरेललाई यस्ता गतिविधि रोक्न कस्तो पहल गर्नुभएको छ ? भनी प्रश्न गरेका थियौँ । उनका अनुसार यस्ता कामको सूचना र प्रमाण जुटाउन जटिल हुने भएकाले केही अप्ठ्यारो छ ।

 

सट्टेबाजीमा संलग्न भएको पुष्टि भएको खण्डमा त्यस्तालाई कारबाही गर्ने प्रतिबद्धतासमेत पोखरेलले जनाए । यसबाहेक प्रहरीको आन्तरिक सुशासनको पाटो बलियो हुँदैआएको पोखरेलको भनाइ छ । पहिले झैँ प्रहरीहरू जनस्तरमा अलोकप्रिय हुने अवस्था नरहेको पनि उनले बताए ।

 

पोखरेलले आफू मातहतका कुनै पनि प्रहरीले जनतालाई सेवा दिने क्रममा आनाकानी गरेको खण्डमा वा जनतालाई दुःख दिन खोजेको अवस्थामा तत्कालै उजुरी दिनसमेत आग्रह गरेका छन् । शान्तिसुरक्षा स्थितिलाई बलियो बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य भएको एसएसपी पोखरेलको ठम्याई छ । 

विश्वराज पाेखरेल विश्वकप फुटबल काठमाडाैं प्रहरी अपराध सुरक्षा

विशेष