अर्थ शेयर

सेयरबजार र वाम सरकारबीच अविश्वास

सेयरबजार र वाम सरकारबीच अविश्वास

काठमाडाैं । नेपाली सेयर बजारमा १३ साउन ०७३ एउटा ऐतिहासिक कोसेढुंगा हो । सो दिन नेप्से १,८८१ बिन्दुमा पुगेको थियो । प्राविधिक विश्लेषकहरूले सो बिन्दुलाई निकै बलियो प्रतिरोधको रूपमा विश्लेषण गरेका छन् । त्यसपछिका दिनमा नेप्से विभिन्न कारणले ओरालो लागिरहेको छ ।

 

कहिले लगानीयोग्य पुँजी अभाव त कहिले राजनीतिक प्रभाव, बजार ओरालो लाग्नुका प्रमुख कारण बनिरह्यो । यसका साथै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी बढाइदिएपछि जारी भएका बोनस, हकप्रद तथा एफपिओका कारण पनि सेयर बजार घटेको थियो ।

 

बजार विस्तारका विभिन्न कार्यक्रमहरूले पनि सो उच्चतम बिन्दुतर्फ नेप्सेलाई पु-याउन सकेन । विभिन्न समयमा लगानीकर्ताहरूले बजार बढ्ने अपेक्षा राखेका थिए ।

 

२०७४ मा निर्वाचनपछि बजार बढ्ने अपेक्षा लगानीकर्ताको थियो । तर, अपेक्षाअनुसार बजार बढ्न सकेन । त्यसपछि, लगानीकर्ता स्थायी सरकार बनेपछि बजारले गति लिने विश्वासमा रहे । वाम गठबन्धनले निर्वाचनमा पाएको बहुमतले स्थायी सरकार बन्ने निश्चित भयो ।

 

कतिपयले यसलाई सकारात्मक रूपमा विश्लेषण गरेका थिए भने कतिपयले वाम सरकार पुँजीबजार मैत्री नहुने विश्लेषण गरेका थिए । तर, सरकार बनिसकेपछि पनि बजार बढ्न नसक्दा लगानीकर्ता केही निराश भए । त्यसपछिको समयमा कहिले श्वेतपत्र, कहिले नीति तथा कार्यक्रम त कहिले बजेटमा लगानीकर्ताले अपेक्षा राखे ।

 

श्वेतपत्रमार्फत अर्थमन्त्रीले पुँजीबजार विस्तारका कार्यक्रम ल्याउने घोषणा गरे । तर, यसले पनि बजारमा सकारात्मक प्रभाव पार्न सकेन । गत १५ जेठमा आएको आगामी आवको बजेटले पुँजीबजार विस्तारका सकारात्मक कार्यक्रम ल्याए पनि पुँजीगत लाभकर वृद्धि गरेपछि लगानीकर्ता निरुत्साहित भए ।

 

यसले दीर्घकालीन लगानीकर्तालाई कम प्रभाव पार्ने विश्लेषण गर्दै गर्दा पनि बजार ओरालो लागी नै रह्यो । तर, गत शुक्रबार आन्तरिक राजस्व विभागले नेप्सेलगायत धितोपत्र बजारका नियामक निकायलाई हकप्रद र बोनस सेयरमा अंकित मूल्यका आधारमा कर लगाउन दिएको निर्देशनले लगानीकर्ता आक्रोशित भएका छन् ।

 

पछिल्लो समय वाम गठबन्धन बन्नु, गठबन्धनको करिब दुईतिहाइ बहुमत आउनु तथा उसैको सरकार बन्नुलाई पनि सेयरबजारले खुला हृदयले स्वागत गरेको छैन ।

 

वाम गठबन्धन घोषणाको दिन १५५६ मा रहेको नेप्से संसद्को चुनावको परिणाम आउँदासम्म औसत मात्रै घटेको थियो । २६ मंसिर ०७४ मा १५३० मा रहेको नेप्से त्यसयता घटिरहेको छ । न्युनतम् बिन्दु ११६८ सम्म पुगेर अहिले १२६८ मा कायम छ ।

नेप्से नेपाल राष्ट्र बैंक नेपाली सेयर बजार वित्तीय संस्था

विशेष