अर्थ कर्पोरेट

उद्योगलाई ढुक्कको बिजुली

उद्योगलाई ढुक्कको बिजुली

काठमाडौं : विद्युत् प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने भएको छ। सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभीबाट मात्रै विद्युत् आपूर्ति गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिन लागेको हो। प्राधिकरणले यसका लागि अहिले औद्योगिक तथा विशेष आर्थिक क्षेत्र स्थापना हुने सम्भावित सुनसरी, सिरहा, धनुषा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देहीलगायत जिल्लामा उच्च क्षमताका प्रसारण लाइन तथा सवस्टेसन निर्माण गरिरहेको छ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान गर्न काम सुरु गरेको हो। यसका लागि सवस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सवस्टेसन बनाउनेलगायत काम गरिरहेको छ। सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकर्षित गर्न उद्योगसम्म सडक र विद्युत् आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ।

 

माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायत जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत् आपूर्ति पुग्ने र उत्पादित विद्युत् खपत गर्न नसकी खेर जान नदिन योजनाबद्धरूपमा प्राधिकरण लागेको हो। अहिले प्रसारण तथा सवस्टेसनको क्षमताले नधान्ने भएकाले प्राधिकरणले मागअनुसार उद्योगलाई विद्युत् दिन सकिरहेको छैन।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत शनिबार, आइतबार, सोमबार र मंगलबार ती जिल्लामा निर्माणाधीन प्रसारण लाइन तथा सब स्टेसन आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।

‘जनकपुर, हेटांैडा, चितवन, भैरहवालगायत क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेका छौं’, घिसिङले भने, ‘यस्तो पूर्वाधार तयार भएपछि मागअनुसारको विद्युत् आपूर्ति गर्न सक्छौं भने अर्कोतर्फ ट्रिपिङ (आपूर्ति अवरुद्ध) हुने आदि समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति हुन्छ।’

प्राधिकरणले सुनसरी, सिरहा, धनुषा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देहीलगायत जिल्लामा उच्च क्षमताका प्रसारण लाइन र सवस्टेसन निर्माण गरिरहेको छ।

उनले उद्योगलाई विद्युत् दिँदा खपत बढ्ने र चुहावट पनि नियन्त्रण हुने बताए। ‘लोडसेडिङ अन्त्य भएको छ, अब दुई वर्षमा निर्माणाधीन धेरै आयोजना सम्पन्न हुने भएकाले विद्युत् खपतका लागि माग बढाउनुछ’, घिसिङले भने, ‘थ्री फेज मिटर जडानलाई प्राथमिकता दिनुपर्छ।’

नवलपरासी र रूपन्देहीमा सञ्चालनमा रहेका र खुल्न सक्ने उद्योगलाई ध्यान दिएर प्राधिकरणले प्रसारण लाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ। प्राधिकरणले चिनियाँ लगानीमा सञ्चालन हुन लागेको होङसी शिवम् सिमेन्टलाई विद्युत् आपूर्तिका लागि नवलपरासीको बर्दघाटदेखि सर्दीसम्म १३२ केभीको डबल सर्किट प्रसारण लाइन बनाउन सुरु गरिसकेको छ। अन्नपूर्णपाेष्ट । 

विद्युत् प्राधिकरण विद्युत् आपूर्ति औद्योगिक क्षेत्र

विशेष