अर्थ कर्पोरेट

फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

काठमाडौँ  । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । 



कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएको बताए । 



ऊर्जा मन्त्रालयका सहसचिव उदयराज सापकोटाले देश विकास र समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै परियोजनाका लागि इजाजत लिने समयमा काम नगर्ने व्यवसायीलाई कारबाही गरिने बताए । 



नायब महाप्रबन्धक अरुण रजौरियाले कूल ५४१ मेगावाट क्षमताको १४ वटा आयोजनामा जम्मा रु छ अर्ब ७८ करोड ऋणका रुपमा लगानी गरेको जानकारी गराउँदै यस क्षेत्रमा परियोजना कार्यान्वयनका विभिन्न जोखिमबारे बताए । 



कम्पनीले राष्ट्रिय प्रशारण कम्पनीलगायत पाँचवटा विद्युत् कम्पनीमा रु ३४ करोड बराबरको शेयर लगानी गरेको छ । 



विसं २०६८ असारमा स्थापना भएको कम्पनीले हालसम्म रु एक अर्ब ४० लाख आयकर बुझाएको छ । अहिलेसम्म शेयर धनीलाई करीब रु ९० करोड लाभांशका रुपमा वितरण गरिएको छ । 



मेगा बैंकका पूर्व कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकको ब्याजदरमा हुने घटबढले दीर्घकालीन जलविद्युत् परियोजनामा लगानी गर्न चुनौती रहेको विचार व्यक्त गरे । 



नेपाल हाइड्रोपावर एशोसिएसनका अध्यक्ष विष्णुबहादुर सिंह तथा विज्ञ मोहनराज जोशी, पंकजकुमार ठाकुर, सुदिम्ना उपाध्यायलगायतले विस्तृत परियोजना प्रतिवेदन शुरु गर्दादेखि समग्र परियोजनाको संरचना तयार हुँदासम्मका समस्या तथा त्यस क्षेत्रमा देखिने जोखिम र सम्भावनाबारे जानकारी दिए । 

जलविद्युत् फुकोट कर्णाली परियोजना

विशेष