अपराध सुरक्षा

सुन तस्करी प्रकरणमा ६ जनाविरुद्ध पूरक मुद्दा दायर

सुन तस्करी प्रकरणमा ६ जनाविरुद्ध पूरक मुद्दा दायर

विराटनगर । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सलग्न ६ जना विरुद्ध जिल्ला अदालत मोरङमा पूरक मुद्दा दर्ता गरिएको छ । बुधबार प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत पूरक मुद्दा दर्ता गरिएको हो ।

 

जिल्ला न्यायधिवक्ताको कार्यालयका प्रमुख पुण्यप्रसाद पाठकले प्रहरी हिरासतमा रहेका चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवाल र भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङविरुद्ध पूरक मुद्दा दायर गरिएको जानकारी दिए ।

 

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा वैशाख १९ गते ६३ जनाविरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबीसहित ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर गरिएको थियो ।

 

मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरेसहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप पक्राउ परेकाहरूलाई प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत पूरक अभियोगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।

 

वैशाख ३१ गते दुई जनाविरुद्ध म्याद थप गरिएको थियो । त्यसयता पक्राउ परेका थप चार जनालाई पनि पूरक अभियोगमा म्याद मिलान गरिएको थियो । संगठित अपराधमा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । सुन तस्करी प्रकरणको पूरक अभियोग भने एक महिना २० दिन पछि दर्ता गर्न लागिएको हो ।

 

व्यापारीविरुद्ध संगठित अपराध मुद्दा

 

सुन तस्करीको अभियोगमा पक्राउ परेका व्यापारीहरुविरुद्ध पनि प्रहरीले संगठित अपराध मुद्दामा अनुसन्धान सुरु गरेको छ । गृह मन्त्रालयले गठन गरेको समितिले पक्राउ गरेका व्यापारीहरु विमल पोद्दार, प्रविण अग्रवाल, डब्बु भनिने इम्तियाज अली र अकबर शाहलाई पनि संगठित अपराध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गसुरु गरिएको छ ।

 

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले व्यापारी पोद्दारलाई गत असार ५ गते मंगलबार नियन्त्रणमा लिएको थियो । त्यस्तै अकबर साहलाई असार ८ गते, प्रविण अग्रवाल र अलीलाई असार ९ पक्राउ गरेको थियो ।

सुन तस्करी

विशेष