अपराध सुरक्षा

आपराधिक क्रियाकलापमा संलग्न ६५ भारतीय फरार

आपराधिक क्रियाकलापमा संलग्न ६५ भारतीय फरार

काठमाडाैं । आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला गरे पनि कार्यान्वयन हुन नसकेको हो । अदालतका तहसिलदार धनीराम चापागाईंका अनुसार १० जनाको कैद भुक्तान, ३६ जनाको जरिवाना असुल र १९ जनाको जरिवाना र कैद भुक्तान दुवै हुन बाँकी छ ।

 

विगत लामो समयदेखि भएको फैसला कार्यान्वयन हुन नसकेको हो । उनीहरुविरुद्ध लागुऔषध, जबर्जस्तीकरणी, चोरीलगायतका मुद्दा फैसला भएका हुन् । अदालतले प्रहरीसँग सहकार्य गरेर फैसला कार्यान्वयन विशेष अभियान सञ्चालन गरेको भए पनि विदेशी नागरिक पक्राउ पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार नेपालमा नभेटिएका गम्भीर अपराध गरेका विदेशी अपराधीलाई इन्टरपोलमार्फत् सूचना जारी गरेर झिकाइने बताए । अदालतबाट फैसला भएका गम्भीर अपराधका नभएकाको हकमा भने प्रहरीले इन्टरपोलको सहायता नपाउने भएकाले कार्यान्वयनमा ल्याउन कठिन हुने गरेको छ ।

 

अदालतमा हालसम्म कैद र जरिवाना भुक्तानी गर्न चार हजार १७६ जना नेपाली बाँकी रहेका छन् । अदालतले दिएको जानकारीअनुसार ४४७ जनाको कैद, दुई हजार ७४० जनाको जरिवाना र ९८९ जनाको कैद तथा जरिवाना दुवै भुक्तान गर्न बाँकी छ । अदालतले गत वर्ष फरार रहेका २२९ जनाको १२ वर्ष १० महिना आठ दिन कैद र रु १९ लाख सात हजार ४३१ जरिवाना असुल गरेको छ । सात जनाको कैद, ११३ जनाको जरिवाना र नौ जनाको दुवै सजाय असुल गरेको अदालतले जनाएको छ । अदालतले नेपाली र विदेशी गरी चार हजार २४० जनाको रु ११ करोड ८९ लाख ९३ हजार १३ जरिवाना र दुई हजार १८४ वर्ष नौ महिना २९ दिन कैद असुल गर्न बाँकी रहेको उल्लेख गरेको छ ।

 

गत आर्थिकवर्षमा कार्यालयले रु दुई करोड ३१ लाख २२ हजार ७९५ जरिवाना र ९०४ वर्ष ११ महिना कैद असुल गरेको थियो । गत आवमा अदालतमा फैसला कार्यान्वयन गर्न ३५० निवेदन परेकामा २५९ निवेदन कार्यान्वयन भएको र ९१ बाँकी रहेका छन् । राससबाट
  
 

आपराधिक क्रियाकलाप

विशेष