व्यापार अर्थ

माग अनुसार स्याउ उत्पादन भएन

माग अनुसार स्याउ उत्पादन भएन

मनाङ । नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका छन् । 

 

मनाङमा ‘हाई डेन्सिटि एप्पल फार्म’ले नयाँ प्रविधिबाट स्याउ उत्पादन गरिरहेको छ । सो फार्मका कामदार यतिबेला स्याउको बोट स्याहार-सुसारमा व्यस्त छन् । नेस्याङ गाउँपालिका-१, भ्राताङमा ७५० रोपनीमा स्याउखेती गरिएको छ । 

 

फार्ममा इटाली र सर्बियाबाट फुजी, गाला र गोल्डेन जातको स्याउको बिरुवा ल्याएर लगाइएको छ । स्याहारमा ध्यान दिनसके एउटै रुखले ४० देखि ४५ किलोसम्म फल दिन्छ । 

 

‘उत्पादन बढाउन बोटमा स्केल कटिङ गर्दै आएका छौँ,’ कामदार राजु तामाङले भने। माथिल्लो मनाङको टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाले ७३५ रोपनी जग्गा भाडामा लिएर स्याउखेती गर्दै आएका छन् । भदौ अन्तिम साताबाट स्याउ टिप्न थालिन्छ । 

 

एग्रो मनाङले गतवर्ष तीन सय टन स्याउ उत्पादन गरी रु तीन करोड कमाएको थियो । यसवर्ष पाँचसय टन स्याउ उत्पादन गर्ने एग्रोको लक्ष्य छ । स्याउ फार्ममा हाल ५० कामदार कार्यरत छन् । २५ करोड रुपैयाँको लागतमा २७ वर्षका लागि जग्गा भाडामा लिएर यहाँ तीन जातका स्याउ लगाइएको छ ।

 

स्याउ खेतीसँगै पिसाङमै जुुस उद्योग र भण्डार गहृसमेत स्थापना गरिएको कम्पनीका प्रबन्धक सोमराज गुरुङले बताए । यहाँ उत्पादन भएको स्याउ पोखरादेखि काठमाडौँसम्म बिक्री हुने गरेको छ । 
 

स्याउ मनाङ

विशेष