पानी पिउने तरिका थाह पाउनुहोस्
काठमाडौं । पानी हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीको कमीले शरीरभित्र मात्र होइन, बाहिरी छालामा पनि नकारात्मक असर पर्छ । धेरै मानिसको लामो समय पानी नपिउने र पाएको वेला बढी नै पिउने बानी हुन्छ ।
यस्तो बानीले पनि स्वास्थ्यमा नकारात्मक असर पुग्छ । त्यसैले हामीले सही समयमा खाद्यान्न र पानीको मात्रा मिलाएर पिउनुपर्छ ।मानव शरीरका लागि दैनिक डेढदेखि दुई लिटरसम्म पानी आवश्यक हुन्छ । तर, एकैपटक बढी पानी पिउनुचाहिँ हुँदैन ।
केही समयको ग्याप राखेर पानी पिउनुपर्छ । एक–एक घन्टाको फरकमा पानी पिउँदा राम्रो हुन्छ । एकैपटक धेरै पानी पिउँदा मिर्गौलामा ओभरलोड हुन्छ र समस्या निम्तिन्छ ।
शरीरबाट नियमित पानीको मात्रा बाहिर निस्किरहेको हुन्छ । त्यसैले सोही मात्रामा पानी पिउन जरुरी हुन्छ । मानसिक श्रम गर्ने एक वयस्क व्यक्तिको शरीरबाट दिनभरमा २२ देखि २५ सय मिलिलिटरसम्म पानी निस्कन्छ । दिसा, पिसाब, पसिना र बाफका माध्यमले मानव शरीरबाट पानी बाहिर निस्कने गर्छ ।
बिहान उठ्नेबित्तिकै दुईदेखि तीन गिलास मनतानो पानी पिउने बानी गर्नुपर्छ । यस्तो बानीले स्वास्थ्यमा सकारात्मक असर त पुर्याउँछ नै, शरीरका लागि त्यो आवश्यक पनि हुन्छ ।
तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । बेलुकी यस्तो भाँडामा पानी राखेर अर्को दिन पिउन सकिन्छ ।
पानीले शरीरको पाचन प्रणालीलाई सबल र सन्तुलित बनाउँछ । यसले मानिसको शक्ति बढाउन पनि भूमिका खेल्छ । पानीले शारीरिक तथा मानसिक रूपमा शीतलता र सौम्यता पनि प्रदान गर्छ ।
मानिसको पेट खाली भएको वेला पानी पिउँदासमेत शरीरमा शक्तिको सञ्चार हुन्छ । पानीसँगसँगै झोल पदार्थको प्रयोग गर्न पनि सकिन्छ र फलफूल, सागपात, गेडागुडीमा विशेष ध्यान दिनुपर्छ । नयाँ पत्रिकाबाट
पानी तरिका