अर्थ

चल्नेभयो उखु मिल, उखुको मूल्य दिन चिनी उद्योगी तयार

चल्नेभयो उखु मिल, उखुको मूल्य दिन चिनी उद्योगी तयार

काठमाडौं । सरकारले निर्धारण गरेको उखुको मूल्य दिन चिनी उद्योगी तयार भएका छन् । यससँगै यस वर्षको क्रसिङ सिजन दुई दिनभित्रै सुरु हुने भएको छ । 

 

नेपाल उखु उत्पादक महासंघ र नेपाल चिनी उत्पादक महासंघबीच बुधबार महोत्तरीको बर्दिबासमा सम्पन्न बैठकले सरकारले तोकेको समर्थन मूल्य स्वीकार गर्दै मिल सञ्चालन गर्ने निर्णय गरेको हो । उद्योगपति र किसान प्रतिनिधिबीच चारबुँदे सहमति भएको नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

 

आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले तोकेको उखुको समर्थन मूल्य उद्योगीले स्वीकार गर्ने, उद्योगले उखु खरिद गरेको ४५ दिनभित्र किसानलाई भुक्तानी दिने, सस्तो ब्याजदरमा उद्योगीलाई ऋण दिलाउन किसानले सरकारसँग पहल गरिदिने र उत्पादित चिनी खरिदका लागि किसान र उद्योगी मिलेर सरकारसँग पहल गर्ने सम्झौता भएको छ ।

 

सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ। तर, उद्योगीले सरकारले एकलौटी रूपमा मूल्य तय गरेको भन्दै विरोध गरेका थिए । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

उखुको मूल्य

विशेष