अर्थ

मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा जम्मा गर्नुपर्ने

मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा जम्मा गर्नुपर्ने

काठमाडौं । सार्वजनिक पदधारण गरेका व्यक्तिले मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुका नाममा प्रत्येक महिना बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थप गर्दै सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन प्रस्ताव गरेको छ । 

 

सरकारका तर्फबाट राष्ट्रियसभामा दर्ता भएको विधेयकमा मूल ऐनले परिभाषित गरे अनुसार ६० वर्षभन्दा माथि उमेर पुगेका आमाबाबुको नाममा कमाइको निश्चित प्रतिशत रकम बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । मासिक आयको कति रकम जम्मा गर्ने विधेयकले तोकेको छैन । यसअघि प्रारम्भिक मस्यौदामा १० प्रतिशत पारिश्रमिक बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थियो । 

 

नियमावली वा निर्देशिकाबाट रकम तोक्ने गरी विधेयक प्रस्तावित छ। मूल ऐनको दफा ८ मा पारिश्रमिक जम्मासम्बन्धी व्यवस्था थप गरी विधेयक दर्ता गरिएको छ । थप गरिएको दफा ८ (क) मा भनिएको छ, ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना ज्येष्ठ नागरिक बाबु आमाको नाममा रहेको बैङ्क खातामा प्रत्येक महिना जम्मा गर्नु पर्नेछ।’ 

 

प्रस्तावित विधेयकअनुसार सार्वजनिक पद धारणा गरेका बाहेक अन्तर्राष्ट्रिय वा अन्तरसरकारी सङ्घ सङ्गठन तथा प्रचलित कानुनबमोजिम स्थापना भएका कम्पनीबाट नियमित पारिश्रमिक लिइरहेका व्यक्तिले पनि पारिश्रमिक जम्मा गर्नुपर्नेछ। स्वरोजगार, व्यापार, व्यवसाय वा अन्य कुनै पनि प्रकारको आयबाट तोकिएकोभन्दा बढी आम्दानी गर्नेले पनि तोकिएको प्रतिशत रकम बैङ्क खातामा जम्मा गर्नुपर्नेछ।  

 

निवृत्तिभरण पाइरहेका व्यक्तिले पनि तोकिएको निश्चित प्रतिशत रकम ज्येष्ठ नागरिक आमा बाबुको नाममा जम्मा गर्नुपर्नेछ । यसरी जम्मा गर्ने रकम आमा बाबु सगोलमा रहेको वा भिन्न भएको अवस्थामा पनि जम्मा गर्नुपर्नेछ । आमा वा बाबु भिन्न भएको अवस्थामा भने आफूले हेरचाह गर्नुपर्ने बाबु वा आमामध्ये एकको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ। यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

निवृत्तिभरण ज्येष्ठ नागरिकसम्बन्धी ऐन

विशेष