सुनसहित वडाअध्यलाई पक्राउ
सिरहा । सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट ठूलो परिमाणको सुनसहित वडाअध्यलाई पक्राउ गरेको छ। एक किलो सात सय ५७ ग्राम सुनसहित लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसँगै अरू पाँच जना पक्राउ परेका हुन्।
कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बिआर३२पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीको बटालियन नम्बर ७ कार्यालय सिरहामा शनिबार उनीहरूलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गरिनेमा लहान–१९ का मोहम्मद रहमान, मोहम्मद अफरोज मियाँ, मोहम्मद अमिरुल, मोहम्मद कैयुम राईन, मोहम्मद रियाज राइन छन् ।
बटालियन कमान्डर सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सोम गुरुङका अनुसार कतारबाट आयात भएर आएको उक्त परिमाणको सुनसहित ६ जनालाई शनिबार बिहान ३ बजेतिर पक्राउ गरिएको हो। पक्राउ गरिएका उनीहरुका साथमा रहेको सुन परीक्षण र वजन नेपाल सुनचाँदी व्यवसाय संघ सिरहामार्फत यकिन गरिएको छ।
सुनचाँदी व्यवसायी संघले सुनको बजार मूल्य ९१ लख ९२ हजार चार सय ६४ रुपैयाँ मूल्यांकन गरेको एसपी गुरुङले बताए। सुनसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि पूर्व क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइने उनको भनाइ छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
पक्राउ