सेयर बजारमा सामान्य गिरावट
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आजको सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार नेप्से शुन्य दशमलव २ अंकले घटेर ११८७.७७ अंकमा कायम भएको छ ।
बुधबार ७.७४ अंकले घटेको नेप्सेमा आज सामान्य गिरावट आएको हो । योसँगै बजारमा खरिदकर्ता र विक्रीकर्ताको चाप न्यून हुँदा बुधबारको तुलनामा कारोबार रकम समेत घटेको छ ।
आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ । १ सय ६४ कम्पनीको २८ करोड ७७ लाख ५० हजार ३ सय २१ रुपैयाँको ८ लाख ३५ हजार ८ सय २६ कित्ता सेयर खरिदविक्री भएको छ ।
कारोबारमा आएका समुह मध्ये जलविद्युत, लघुवित्त र अन्य समुहका परिसूचक बाहेक सबै समुह घटेका छन् ।
नेपाल बैंक, नगरिक सलगानी कोष, छिमेक लघुवित्तको २ करोड भन्दा बढिको सेयर कारोबार भएको छ । तर लगानीकर्ताको आकर्षण भने माथिल्लो तामाकोशीमा नै बढि देखियो ।
कारोबार सुरु भएको केहि समयमै माथिल्लो तामाकोशीको सेयरमूल्य १० प्रतिशतले बृद्धि हुँदा नेप्सेले सर्किट ब्रेक लगाएको थियो । माथिल्लो तामाकोशीका सेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् भने जोशी हाइड्रोपावरका लगानीकर्ताले पनि आज करिब १० प्रतिशतले नै गुमाएका छन् ।
नेपाल स्टक एक्सचेन्ज नेप्से