अर्थ रोजगार

गुण्डाराजले काठमाडौं मलका व्यापारी पीडित  

गुण्डाराजले काठमाडौं मलका व्यापारी पीडित  

काठमाडौं । कर्मचारी सञ्चय कोषको स्वामीत्वमा रहेको सुन्धारास्थित काठमाडौं मल गुण्डानाइकेहरुको कब्जामा परेको छ ।

 

२०६३ सालदेखि १४ वर्षका लागि मल व्यवस्थापनको जिम्मेवारी पाएका व्यवसायी प्रवीण शमशेर राणाले सम्झौता सकिन ५ वर्ष बाँकी छँदै ७२ सालमा मलबाट हात झिकेका थिए । प्रवीणले आर्थिक मुनाफा राम्रो नदेखेर छाडेको मलमा सञ्चय कोषले पुनः टेण्डर आह्वान गरेको थियो । दोस्रो पटक व्यवस्थापनको जिम्मेवारी गुण्डा नाइके राजु गोर्खालीले पाए । गोर्खालीले टेण्डर पाएपछि मलबाट सकेसम्म बढी आय गर्न उनले त्यहाँका व्यापारीहरुसँग कोठाभाडामा कसीकसाउ गर्न थाले । प्रवीणले लिएको भन्दा एकैपटक पाँच गुणासम्म बढी भाडा असूल उपर हुन थालेपछि व्यापारीहरुमा आतंक नै मच्चियो । किनभने वहाल लिनेदिने नियममै दुई वर्षमा १० वा १५ प्रतिशत भन्दा बढी बढाउन नपाईने प्रचलित नियम नै हो । 

 

गुण्डानाइके गोर्खालीले ‘व्यापार गर्न मन भए पैसा दिनु नत्र  छाडेर जानू’ भन्ने फतवा जारी गरे । गुण्डानाइकेको आतंकका कारण व्यापारीहरु निल्नु न ओकल्नुको अवस्थामा पुगे । गुण्डागर्दीको प्रभाव देखाउँदा पनि गोर्खालीले मनोवाञ्छित रकम उठाउन भने सकेनन् । उनले टेण्डर लिएको २२ महिनामै मल छाडेर गए । २२ महिनामा त्यहाँका व्यापारीसँग सकेसम्म असूल गरे । मलको माथिल्लो तलामा ग्यालेक्सी पार्टी प्यालेस सञ्चालन गर्दै आएका व्यवसायी मुनिन्द्र बस्नेत भन्छन्, ‘नयाँ ठेकेदारले पाँच गुणासम्म भाडा असूल गर्न थालेपछि प्रशासनमा उजुरी पर्‍यो। जसका कारण गोर्खालीले पनि सम्झौता भंग गरेर हिँडे ।’

 

यतिबेला सञ्चयकोषले फेरि टेण्डरका लागि सूचना टाँस गरेको छ । 

 

मलका व्यवसायीको हक हितका लागि भनेर ‘द काठमाडौं मल व्यापार संघ’ नामक संगठन पनि स्थापना गरिएको छ । यो संघले व्यापारीको हित भन्दा पदाधिकारीकै हितमा काम गर्दै आएको आरोप पनि लाग्ने गरेको छ । मलका एक व्यापारी भन्छन्, ‘संघको नाममा हामीसँग पैशा असूल गरिएको छ । त्यो रकम पदाधिकारीहरुले आफ्नै गोजीमा हाले । संघको अध्यक्षमा समिर उदेन शेख, वरिष्ठ उपाध्यक्ष  मधुसुदन आचार्य, वरिष्ठ सल्लाहकार केशव सापकोटा, प्रथम उपाध्यक्ष सन्तोष अधिकारी, द्वितीय उपाध्यक्ष मित्रलाल पौड्याल, महासचिव खेम विक्रम सेन, सचिव मुरारी कोइराला, कोषाध्यक्ष प्रकाश थापा लगायतको समूहले व्यापारीको हकहितमा नबोलेको, बिचौलीयाको काम गरेको व्यापारीहरुको गुनासो छ । 

 

व्यापारी बस्नेत भन्छन्, ‘लाखौ खर्च गरेर पूर्वाधार बनाउनु पर्छ, नयाँ ठेकेदारले एकैपटक तेब्बर भाडा बढाउछ । तिर्न सके बस्ने नत्र जाने भन्न थाल्छ ।’
व्यापारीहरुले ढूक्क भएर लगानी गर्ने गर्न पाउनु पर्ने माग राखेका छन् । 

 

मलमा ३ सय साना व्यावसायी छन् । करिब १ हजारले मलमा रोजगारी पाएका छन् ।

विशेष