अर्थ

दर्ता नभई टुटलको आवरणमा भ्याट असुली गर्दै हाइपर लुक्स नेपाल

दर्ता नभई टुटलको आवरणमा भ्याट असुली गर्दै हाइपर लुक्स नेपाल

काठमाडौं । टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ।

 

मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन। तर हाइपरले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिँदै आएको छ। नागरिकलाई हाइपरले भ्याट लिएको आधिकारिक बिल प्राप्त भएको छ।

 

हाइपरले भ्याटमा दर्ता नभई झन्डै १९ महिना मोटरसाइकलको सेवा लिने सेवाग्राहीबाट भ्याट उठाएको छ। उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाईसम्म भ्याट उठाएको थियो। उक्त कम्पनीले १९ महिनामा भ्याट कति असुली गरेको छ भन्ने तथ्यांक भने फेला परेको छैन। यसको कारोबार हेर्दा कम्पनीले १९ महिनामा करोडौं भ्याट असुली गरेको देखिन्छ। मुलुकमा अधिकांश साना ठूला व्यवसायीहरू भ्याट छली विवादमा आउने गरेका छन्।

 

हाइपरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भ्याट उठाएको स्वीकार गरे। ‘हामीले स्टार्टअप सुरु गर्दा भ्याटको प्रक्रियाका बारेमा थाहा नभएकाले भ्याट संकलन गरेका हौं,’ भट्टले भने, ‘अहिले हामीले भ्याट उठाउन बन्द गरेका छौं।’ भट्टले अहिलेसम्म कति रकम भ्याटबापत असुली गरेको हो भन्ने खुलाउन चाहेनन्। यो समाचार आजको नागरिकबाट लिएको हो ।

टुटल, शिक्षित भट्ट

विशेष