हुँदै नभएको गाडीका लागि तीन करोड ऋण
काठमाडौं । हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् ।
सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ प्रक्रिया अघि बढाएको हो । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । थप आठजनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागेको छ ।
गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन् । ढुंगाना विदेश पुगिसकेका छन् भने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगाना पोर्चुगल पुगिसकेको प्रहरीले बतायो । उनलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मार्फत् डिफ्युजन नोटिस जारी गरिएको छ । अनियमित तरिकाले प्रवाह भएकोमध्ये एउटा कर्जा उनको नाममा जारी भएको थियो ।
श्रेष्ठले आफन्तहरूलाई नै फसाएका छन् । उनीसहित प्रहरीले ऋणीहरू बालकृष्ण श्रेष्ठ, नवीन श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठलाई पक्राउ गरेको हो । बालकृष्ण काभ्रेको भुम्लु गाउँपालिकाका वडा सदस्य समेत हुन् । त्यस्तै, बैंकका शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ र धितो मूल्यांकनकर्ता नरेशमान अमात्यसमेत पक्राउ परेका छन् । ऋणीहरू कृष्णबहादुर खत्री, विजयबहादुर श्रेष्ठ, डाँकबहादुर श्रेष्ठ, दुवालाल श्रेष्ठ, सम्झना श्रेष्ठ र लोकबहादुर श्रेष्ठ फरार छन् । उनीहरू सबै नारायण श्रेष्ठका आफन्त हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
ठगी गर्ने पक्राउ