तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने एसपी जिम्मेवारीमुक्त

काठमाडौं । तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ ।
अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट र तामा भएको खुलेको थियो ।
यसबारे पत्रपत्रिकामा समाचार आएपछि प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । धातु साटफेर नभई एसपीले सामान्य अनुसन्धान नै नगरी सुन भनेर सार्वजनिक गर्दा समस्या भएको प्रारम्भिक छानबिनको निष्कर्ष छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
सुनकाण्ड नेपाल प्रहरी