शेयर बजारको दुर्दशा रोकिएन, साताको पहिलो दिननै ७.२२ अंकले गिरावट
काठमाडौं। शेयर बजारमा देखिएको दुर्दशा अझैं रोकिने छाट देखिएको छैन । केहि समयदेखि निरन्तर ओरालो लागेको शेयर बजार यो साता पनि घट्ने देखिन्छ । साताको पहिलो दिन नै बजार ७.२२ अंकले घटेर ११७०.७९ अंकमा ओर्लिएको छ।
आज बजारमा १५६ कम्पनीको १३ लाख ६३ हजार कित्ता शेयर ३१ करोड रुपैयाँमा कारोबार भएको छ। जसमा सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्स बैंकको तीन करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल धितोपत्र बोर्ड(नेप्से)ले जनाएको छ।
साताको पहिलो दिन आईतबार शेयर बजार कारोबारको सुरुवातमा तीन अंकले बढेपनि पहिलो एक घण्टामा बढेको बजारको बृद्धि कायम हुन नसक्दा दोस्रो घण्टामा सूचक बिस्तारै ओर्लन सुरु गरेको थियो। दोस्रो घण्टादेखि बिस्तारै घट्दो क्रममा रहेको बजार अन्तिम सम्मनै घटेर बन्द भएको हो।
बैंकबाट ऋण लिएर लगानी गरेका लगानीकर्ताले दोस्रो त्रैमासको व्याज पुस मसान्तसम्म भुक्तान गर्नु पर्छ। जसको जोहोमा लगानीकर्ता लाग्दा शेयर बजार घटेको ईन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। केही लगानीकर्ताले शेयर बिक्री गरेर ब्याजको जोहो गर्छन् । त्यसैको असर शेयर बजारमा देखिएको ढकालको भनाई छ।
आज नागरिक लगानी कोषका शेयरधनीले सबैभन्दा बढी करिब आठ प्रतिशत कमाए भने, भार्गभ बिकास बैकका शेयरधनीले करिब आठ प्रतिशत गुमाएका छन्।