अपराध सुरक्षा

नियमावली संशोधन गरेरै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हटाइए

नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त

नियमावली संशोधन गरेरै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हटाइए

काठमाडौं : सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । 

 

बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् । 

 

प्रमुख फेर्ने तयारीबारे गृह मन्त्रालयकै अधिकारीहरूलाईसमेत जानकारी थिएन । रेग्मी सोमबार सुरक्षासम्बन्धी छलफलमा गृहमै थिए । केही महिनायता विभागका प्रमुख रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाउन लबिङ भएको थियो । प्रमुख नियुक्त भएका अधिकारीले अबको तीन वर्ष विभागको नेतृत्व सम्हाल्नेछन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

राष्ट्रिय अनुसन्धान विभाग

विशेष