अब सांसदका स्वकीय सचिवालयका कर्मचारीको तलब बैंक खातामा
काठमाडौं । संघीय संसद् सचिवालयले संसद्का पदाधिकारी र सांसद्को बैंक खातामा स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब नपठाउने भएको छ । सचिवालयले स्वकीय सचिवालयमा रहेका सम्पूर्ण कर्मचारीलाई उनीहरूको नाममा बैंक खाता खोल्न भनेको छ । अहिलेसम्म ८९ जनाले एभरेष्ट बैंकमा खाता खोल्न निवेदन दिएका छन् भने २५ जनाले आफ्नो खाता खोलेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले प्रायः प्रत्येक महिनाको २६ गतेभित्र पदाधिकारी र सांसद्को रकम बैंक खातामा पठाउने गरेको छ । ‘यसपटक संसद्का पदाधिकारी र सांसदको आफ्नो व्यक्तिगत रकमबाहेक सचिवालयमा रहने कर्मचारीको रकम पठाइने छैन,’ संसद् सचिवालयका एक अधिकारीले भने ।
उनले भने, ‘ऐनमा नै स्पष्ट व्यवस्था भएकाले हामीले निर्णय गरिरहनु परेन, तर संसद्मा यसको थालनी गर्न भएको निर्णयलाई अभिलेखमा राख्नु पर्ने भएकाले अभिलेखिकरण गर्न बाँकी छ’। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको अनुसूची २ को द्रष्टव्य २ मा भनिएको छ, ‘स्वकीय सचिवायलका कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ।’ तर, ऐनमा भएको व्यवस्थाबमोजिम संसद् सचिवालयले आजका मितिसम्म रकम पठाउने गरेको थिएन । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
संघीय संसद् सचिवालय