लगातार दुई दिन उकालो लागेको सेयर बजार तेस्रो दिन पुनःओरालो लाग्यो
काठमाण्डौ । दुई दिनसम्म लगातार उकालो लागेको सेयर बजार कारोबारको तेस्रो दिन बुधबार भने घटेको छ । आजको सेयर बजारमा नेप्से परिसूचक ७.५७ अंकले घटेर ११८७.९७ को विन्दूमा सीमित भएको हो । तर कारोबार रकम भने बढेर ५३ करोड माथि पुगेको छ ।
आजको नेप्से सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घट्यो भने फ्लट इण्डेक्समा समेत ०.३९ अंकको गिरावट आएको छ ।
सेयर बजारमा सामान्य गिरावट आउनु स्भाविक रहेको विज्ञहरुले बताएका छन् । ‘बुधबारको बजारको गिरावट सामान्य र स्वभाविक करेक्सन हो ।’ उनीहरुले भने, ‘बजार बढेको मौका छोपेर थोरै भए पनि प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीका कारण बजार घटेको हो ।’
सेयर बजारमा आज व्यापार समूह १.८६ अंकले बढेको छ भने जलविद्युत समूहमा २२.८३ अंक र उत्पादनमूलक क्षत्र २.८९ अंकले वृद्धि भएका छन् ।
त्यस्तै, बैंकिङ समूह ५.२ अंकले घट्यो भने विकास बैंक समूहमा १.४१, होटल समूहमा २.४४, वित्त समूहमा २.३२, निर्जीवन बिमा समूहतर्फ ११२.१८, जीवन बिमा समूहमा ७३.०४, माइक्रोफाइनान्स समूहमा १५.६८ र अन्य समूहमा १२.६१ अंकले घटेका छन् ।
आज धेरै कारोबार गर्नेमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकले ८ करोड ८१ लाख बढीको सेयर कारोबार गरेको छ ।
त्यस्तै, नागरिक लगानीकोषले ६ करोड ५८ लाख बढीको सेयर कारोबार गरेकोमा माछापुच्छे बैंकको ३ करोड ४० लाख बढीको संस्थापक सेयरको समेत यो दिन किनबेच भएका छन् ।
एनआइसी एशियाले ३ करोड ९ लाख बढीको कारोबार गरेकोमा माछापुच्छे बैंकको २ करोड ५७ लाख बढीको साधारण सेयर किनबेच भयो ।
छिमेक लघुवित्तले १ करोड ९२ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकको १ करोड ९१ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो ।
प्रिमियर इन्स्योरेन्सले १ करोड ३२ लाख बढीको कारोबार गरेको दिन साना किसान विकास बैंकले १ करोड २० लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १२ लाख बढीको कारोबार गरे ।
सेयर बजारमा आज कुल १ सय ६९ कम्पनीका १७ लाख ४४ हजार १ सय ८७ कित्ता सेयर ५३ करोड ६ लाख ५१ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भएकोमा धेरै कमाउनेमा पहिलो अपर तामाकोशीका लगानीकर्ता रहेका छन् ।
यो कम्पनीको सेयर १० प्रतिशतको हाराहारीमा बढेर सेयरमूल्य रु २८३ पुगेको छ ।
त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयर मूल्यमा वृद्धि हुँदै ९.३८ प्रतिशतले बढेको छ ।
आज बजारमा धेरै गुमाउनेमा एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेड रहेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफामा ४३.१८ प्रतिशतको गिरावट व्यहोरेका कारण लगानीकर्ता कम्पनीको सेयर बिक्री गर्न प्रेरित देखिन्छन् ।
नेप्से परिसूचक