नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ
काठमाडौँ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले सोमवार नक्कली नोट छाप्ने मेसिनसहित ३ जना दाजुभाईलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती (विपुलचोक) बस्ने दोलखाका २८ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली रहेका छन। यी तिनैजना दाजुभाईका छोराहरु हुन्।
प्रहरीले यिनीहरुको साथबाट ६५५७१० नम्बर उल्लेख भएको १७ थान नक्कली १ हजार रुपैयाँ नोटसहित नगद १६ हजार १ सय ९५ रुपैयाँ तथा १ हजार दरका नोट बनाउन प्रयोग गर्ने चिप्लो कागज १ सय ४२ थान, हजार दरको नोट बनाउने तयारी गरिएको काटेको कागज १ सय ४९ थान, रंगीन फोटोकपी मेसिन, कम्प्युटर २ थान र सियो, क्यामेरा र कैंचीसहितका उपकरण पनि बरामद गरिएको काठमाडौँ प्रहरीले जनाएको छ।
आरोपीहरुले करिब ६० हजार नक्कली नोटबाट दैनिक उपभोग्य समान लगायत रिचार्ज कार्ड पनि खरिद गरिसकेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जनाएका छन। केही नक्कली नोट बजारबाटै नियन्त्रणमा लिइएको र बाँकी पनि छिट्टै फेला पारिने डीएसपी बोगटीले जनाएका छन।