धमाधम फोरजी सिम वितरण गर्दै टेलिकम, जनताको उल्लेख्य साथ
काठमाडौँ । नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियत दरमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नतिको काम तीव्र पारेको छ ।
टेलिकमले कार्तिक २० गतेदेखि सिम वितरण अभियानकै रुपमा थालेको हो । अभियान अन्तर्गत आज चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरणको काम भइरहेको छ । कार्तिक २० मा टेलिकमले बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण गरेको थियो ।
टेलिकमले आगामी कार्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने जनाएको छ ।
यसमा टूजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुने टेलिकमले जनाएको छ ।
अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
टेलिकमले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरेको थियो ।