टेलिकमको फोरजी सिम वितरण पोखरामा समापन हुँदै
काठमाडौँ । देशका विभिन्न शहरमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नतिलाई तीव्रता दिएको नेपाल टेलिकमले बुधबार पोखरामा फोरजी समापन गर्ने भएको छ ।
टेलिकमले पोखराको अमरसिंह मैदानमा फोरजी सम्पन्न गर्ने भएको हो । विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो । कार्तिक २० गते विर्तामोडबाट सुरु भएको अभियान अन्तर्गत २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न गरिएको टेलिकमले जनाएको छ ।
टेलिकमले पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नति गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराएको थियो । कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ ।
जसका लागि ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ ।