२० लाख मोबाइल सेट भित्रियो
काठमाडौं- २० लाखभन्दा बढी मोबाइल सेट नेपाल भित्रिएको छ। चालू आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)मा उक्त मोबाइल सेट नेपाल भित्रिएका हुन्।
भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकमा नेपालले ८ अर्ब ६२ करोड २१ लाख ६७ हजार रुपैयाँ बराबरको २० लाख १ सय १२ वटा मोबाइल सेट आयात गरेको हो।
मोबाइल सेट आयातबाटै नेपालले ४ महिनामा १ अर्ब ३६ करोड ५१ लाख १ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ। तर, गत आवको सोही अवधिमा नेपालले १६ लाख ३४ हजार १ सय ८४ वटा मोबाइल सेट आयात गरेको थियो।
गत वर्षको यसै अवधिका मोबाइल आयातमा कुल ७ अर्ब ३९ करोड ५० लाख ५२ हजार रुपैयाँ नेपालबाट बाहिरिएको थियो भने सरकारले १ अर्ब ३७ करोड ९५ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा भएको मोबाइल आयात गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३ लाख ६५ हजार ९ सय २८ले बढी हो। चालु आर्थिक वर्षको ४ महिनामा मोबाइल निर्यात भने ३ सयवटा मात्रै रहेको छ।