एटिएम ह्याक गरी पैसा लुट्ने चिनियाहरु जेल चलान
ललितपुर । उच्च अदालत पाटनले नेपालका विभिन्न ७ वटा बैंकको एटीएम ह्याक गर्ने चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ । न्यायाधीशद्धय रामप्रसाद ओली र किरण पौडेलको (वाणिज्य) इजलाशले ५ जना चिनियाँ र १ फ्रेन्च नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो ।
उच्च अदालतले एटीएम ह्याकिङ प्रकरणमा मुछिएका नेपालीलाई भने धरौटीमा रिहा भनेको छ । एटीएम ह्याक प्रकरणमा मुछिएकामध्ये नेपाली नागरिक देवनाथ लामिछानेसँग ३० लाख तथा रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी मागिएको उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए ।
पुर्पक्षका लागि थुनामा पठाइएका चिनियाँ नागरिकहरुलाई भने कारागार कार्यालय जगन्नाथदेवल ९सुन्धारा० चलान गरिएको उनले बताए । गत भदौ १४ गते नेपाली बैंकको एटीएम ह्याक गरी पैसा लुट्दै गरेको अवस्थामा काठमाडौंको दरबारमार्गबाट ५ जना चिनियाँ ह्याकरहरु पक्राउ परेका थिए । पछि उनीहरुको बयानका आधारमा चिनियाँ मूलका अर्का १ जना फ्रेन्च नागरिक पनि पक्राउ परेका थिए ।
प्रहरीको अनुसन्धानबाट चिनियाँ ह्याकरहरुको समूहले नेपाली बैंकिङ प्रणालीमा आक्रमण गरी १ करोड ६८ लाख रुपैयाँभन्दा बढी लुटेका थिए ।
प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको भन्दै ३ जना नेपालीलाई पनि पक्राउ गरेको थियो ।
चिनियाँहरुले ह्याक गरेर लुटेको पैसा सटही गर्न सहयोग गरेको भन्दै प्रहरीले ठमेलस्थित डेस्को मनि एक्सचेन्ज र नेपालय मनि एक्सचेन्जका सञ्चालक तथा मेनेजरलाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेकामध्ये अदालतले नेपालयका डेस्को मनि एक्सचेञ्जका सञ्चालक वेदनाथ लामिछानेबाट ३० लाख तथा नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र मेनेजर रेवती दवाडीसँग जनही २६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।