गृहमन्त्रीले भने– धनुषा बम विष्फोटमा संलग्नलाई कारबाही हुनेछ
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले धनुषा बम विस्फोटको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेख्दै मन्त्री थापाले धनुषा बम विष्फोटलाइृ आततायी घटनाको संज्ञा दिँदै ‘आततायी घटना’मा संलग्न अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याई छाड्ने बताएका हुन् ।
उनले बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको घटनामा दुःख व्यक्त गरेका छन् । विस्फोटमा एक प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको थियो ।
तीन जना पक्राउ
यसैबीच, धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बिस्फोटको घटनामा संलग्न रहेको आशंकामा २ महिला र १ पुरुषसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामसोभित साह रहेका छन् । पक्राउ परेका ३ जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
साथै बम विष्फोटको घटना छानबिनका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ। प्रहरीले उक्त घटना विप्लव समूह गराएको आशंका गरेको छ ।