यौन-शिक्षा

चीनमा बनेको कण्डम साँघुरो!

चीनमा बनेको कण्डम साँघुरो!

एजेन्सी – जिम्बावेका स्वास्थ्यमन्त्री डेभिड परिरेन्यात्वाले चीनमा बनेको कण्डम अफ्रिकी मुलुकका पुरुषहरुका लागि निकै सानो भएको बताएका छन् ।

राजधानी हरारेमा आयोजना गरिएको एचआईभी र एड्स रोकथामसम्बन्धी कार्यक्रममा मन्त्री डेभिडले अफ्रिकाको दक्षिणी क्षेत्रमा यौनजन्य रोगको संक्रमण उच्च रहेको र आफुहरुले कण्डम प्रयोग गर्न प्रोत्साहन गरिरहेको उल्लेख गरे ।

अहिलेका युवाहरुले विशेष प्रकारका कण्डमहरु प्रयोग गर्न चाहने, तर आफुहरुसँग उत्पादन गर्ने उद्योग नहुँदा चीनबाट आयात गरिएका साँघुरा कण्डमबाट पुरुषहरु आजित भईरहेको डेभिडले गुनासो गरे ।

अब साँघुरा चिनियाँ कण्डमको साटो जिम्बावेकै कम्पनीहरुले आफ्ना नागरिक र पर्यटकका लागि कण्डम उत्पादन गर्नुपर्ने र स्थानीय उत्पादन प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्ने स्वास्थ्यमन्त्रीको तर्क छ । जिम्बाबेका १३.५ प्रतिशत प्रौढ जनसंख्या एचआईभी/एड्सबाट संक्रमित छ । सब-सहारा-अफ्रिकामै यो सबैभन्दा खराब दर हो ।

स्वास्थ्यमन्त्री डेभिडले आलोचना गरेपछि चिनियाँ कण्डम कम्पनीहरुले अबदेखि विभिन्न आकारका कण्डम उत्पादन गर्ने जानकारी गराएका छन् । चिनियाँ कण्डम उत्पादक कम्पनीका प्रमुख कार्यकारी झाओ चुनले आफुहरुले अब अफ्रिकी मुलुकका लागि ठूलो साईजका कण्डमहरु बनाउन लागेको जानकारी गराए ।

अहिले आफुहरुले अफ्रिकी क्षेत्रमा अध्ययन गरिरहेको र भविष्यमा समस्या नहुने गरी विभिन्न प्रकारका ठूला साईजका कण्डम उत्पादन गरिने झाओले बताए ।विश्वका हरेक देशबाट फरक–फरक आकारका कण्डम माग हुने चिनियाँ उत्पादकहरुको भनाई छ । चिनियाँहरुले पातलो कण्डम प्रयोग गर्ने र अमेरिकनहरुले नरम कण्डम प्रयोग यी कम्पनीहरुले जानकारी दिए ।

प्रतिवेदनहरुका अनुसार चीन विश्वकै सबैभन्दा ठूलो कण्डम उत्पादक हो, जसले बार्षिक तीन अर्ब गोटा कण्डम बनाउने गर्छ । अहिले चीनमा झन्डै ३०० वटा कण्डम उत्पादक कम्पनीहरु सञ्चालनमा छन् ।

विशेष