सज्जनलाई दुःख दिने एसपीको ‘सिंघम स्टाइल’ले विराटनगर आक्रान्त
विराटनगर । लिखत बदर मुद्दाको तारेख लिन जाँदा जिल्ला अदालत मोरङ परिसरमै एक महिला कुटपिटमा परेकी छिन् । विराटगर–३ कि श्रृष्टिना ढकाललाई गत माघ १४ गते झुमा पोख्रेल, प्रमिला पोख्रेल र उद्धव पौडेलले गालीगलौज र कुटपिट गरेको पीडित महिलाले जानकारी दिएकी छिन् ।
कुटपिटमा परेपछि पीडितको जाहेरी मोरङ प्रहरीले दर्ता गर्न नमानेको उनी बताउछिन् । मोरङका एसपी मनोज केसीको इच्छाबमोजिम प्रहरीले जाहेरी लिन नमानेपछि ढकाल जिल्ला अदालत मोरङ पुगेकी थिइन् । अदालतले ढकालको निवेदनपछि पोख्रेलत्रयलाई उपस्थित गराएर थुनछेक बहसका लागि आदेश दिएको थियो । त्यस्तो आदेश दिए पनि प्रहरीले थनछेक नगरी मुद्दा बुझाउने तयारी गरेको छ ।
घटनामा मुछिएकी झुमा पोख्रेल विराटनगर महानगरपालिका वडा नम्बर २२ की सदस्य हुन् भने उद्धब पोख्रेल उनकै सहोदर दाजु हुन् । उनीहरुको सम्बद्धता नेकपासँग भएका कारण स्थानीय प्रहरी प्रशासनमा उनीहरुको प्रभाव रहेको पीडित महिलाले जानकारी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी केसीको छवि पनि केही घटनाका कारण धुमिल बन्दै गएको छ । स्रोतका अनुसार केसीले विराटनगर–३ का प्रमोद भगतको इशारामा कटहरी–९ मोरङका देवनारायण विश्वासविरुद्ध झुठमुटमै ठगी मुद्दा चलाएका छन् । जमीन किनबेचमा साक्षीमात्रै बसेका विश्वासलाई एसपी केसीले पक्राउ गरी मानसिक यातना दिएपछि उनीविरुद्ध उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ ।
विश्वासलाई प्रमोद भगत, अञ्जु खड्कालगायतको टिमले प्रहरीको आडभरोसमा फसाएको दावी गरिएको छ ।
एसपी केसीले विराटनगरकै सुनील साहलाई सुन किनेकै भरमा थुनामा राखेर दैनिक मानसिक र शारीरिक यातना दिँदै आएको बुझिएको छ । सुन किनेको तर बिक्री गरेको नदेखिएको भन्दै उनीविरुद्ध एसपी केसीले मुद्दा दर्ता गरेका हुन् । यससम्बन्धमा पनि प्रहरीसँग अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
एसपी केसीले विराटनगरका मोहम्मद फारुक,मोहम्मद रसिद, मोहम्मद रइसलगायत युवाहरुलाई समेत निलडाम हुने गरी कुटपिट गरेका भनेर आलोचित भइरहेका छन् ।
नेकपानिकट मानिएका एसपी केसीको सज्जनपीडित बनाउने ‘सिंघम स्टाइल’ विवादमा परिसकेको छ ।