अपराध सुरक्षा

राति होइन अब दिनदहाडै चोरी

राति होइन अब दिनदहाडै चोरी

काठमाडौं । यो हप्ता काठमाडौं उपत्यकामा लगातार सात वटा चोरीका घटना भएका छन् । तीमध्ये अधिकांश दिउँसोको समयमा भएका छन् । सुन्दा, पत्यार समेत नलाग्ने यस्ता चोरीका घटना दिउँसै हुन थालेपछि प्रहरीअधिकारी पनि अलमलमा परेका छन् ।

 

महानगरीय प्रहरी कार्यालयका अनुसार, आइतबार दिउँसो बाँसवारी, सोमवार दिउँसो घट्टेकुलो, बुढानिलकण्ठ र कोटेश्वर, मङ्गलवार रातोपुल र तीनकुने, बुधवार सानेपा तथा बिहीवार टोखामा गरी पाँच दिनमा सात स्थानमा चोरी भएको छ ।

 

तीमध्ये कोटेश्वरस्थित अनु पौडेलको घरमा मात्र रातिको समयमा झ्यालबाट प्रवेश गरी चोरी भएको छ । दराजमा रहेको ३५ हजार नगद, सुनको गरगहना र ल्यापटप गरी तीनलाख ७५ हजार मूल्य बराबरको चोरी भएको पीडितको भनाइ छ ।

 

‘विगतका वर्षहरूमा रातिको समय र चाँडपर्वको बेला चोरीका घटना बढी हुन्थे’ महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा भन्छन्,  हिजोआज ठीक त्यसको उल्टो भएको छ । राति होइन दिनदहाडै चोरी हुने गरेको छ ।

 

विशेष गरी कार्यालय सयममा सबैजना काममा जाने हुँदा कोही नभएको मौकाछोपी दिउँसो घरकोठाको मूलढोका फोडेर र राति झ्याल खोलेर चोरी हुने गरेको छ । घट्टेकुलो, बुढानिलकण्ठ, सानेपा र वाँसबारीमा दिउँसो, रातोपुल र कोटेश्वर साइमार्गस्थित एक घरमा भने साँझ चोरी भएको छ ।

 

परिसर प्रमुख लामा भन्छन्, ‘घरमा मानिस भएकै अवस्थामा पनि बिहान छोराछोरी स्कुल पुर‍्‍याउन जाँदा र साँझ लिन जाँदा पनि चोरी हुने गरेको छ । रातिभन्दा दिनमा चोरीका घटना बढी हुन्छन् ।’

 

दिउँसो सबैजना काममा जाने भएकाले झ्यालभन्दा मुख्य ढोका फोडेर चोर्न सहज र सुरक्षित हुने गरेको पाइएको छ । चोरी अपराधको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक अनिल अधिकारीका अनुसार, पट्के चोरको मुख्य निशाना नगद र गरगहना नै हो ।

 

कपितयले ल्यापटप र मोबाइल पनि चोरी गरेको देखिन्छ । तर, सुनका गरगहना र नगदको तुलनामा जिन्सी वस्तु बोक्न र बिक्री गर्न गाह्रो हुने भएकाले सुन र नगद नै चोर्ने गरेको उनले जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

चोरी नेपाल प्रहरी

विशेष