अपराध सुरक्षा

पाठकको घूस प्रकरण : अख्तियारको तीन सदस्यीय समितिले विस्तृत अनुसन्धान गर्ने

पाठकको घूस प्रकरण : अख्तियारको तीन सदस्यीय समितिले विस्तृत अनुसन्धान गर्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकको घूस प्रकरणमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अनियमितताको संकेत देखिएमा विस्तृत अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । अख्तियारले हालसम्म पत्रपत्रिकाबाट प्राप्त सूचनालाई उजुरीका रूपमा लिएको हो ।

 

‘आयोगले मंगलबार उक्त प्रकरणको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको हो,’ आयोग प्रवक्ता रामेश्वर दंगालले भने, ‘सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेका छौं । मंगलबारदेखि काम सुरु भइसकेको छ ।’

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम १२ मा प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर हुने देखिए प्रतिवेदनका आधारमा अनुसन्धान अधिकृत तोकी विस्तृत छानबिन गर्ने उल्लेख छ । आयोगले तोकेको अनुसन्धान अधिकृतलाई विषयवस्तुको गाम्भीर्यताका आधारमा स्पष्टीकरण सोध्ने, बयान लिने, तारिख वा थुनामा राख्नेलगायत अधिकार छ । खानतलासी लिन र धरौटी माग गर्नसमेत सक्नेछ ।

 

अख्तियारले पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन अघि बढाउने विषयमा आइतबारै महान्यायाधिवक्तासँग राय मागेको थियो । जवाफमा महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पूर्वपदाधिकारीहरूमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न कुनै संवैधानिक र कानुनी अडचन नहुने सुझाव दिएको थियो ।

राजनारायण पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोग घूस प्रकरण

विशेष