अर्थ शेयर

अतालिदो शेयर बजारमा सोमबार एकाएक ७.४१ अंकको सुधार

अतालिदो शेयर बजारमा सोमबार एकाएक ७.४१ अंकको सुधार

काठमाडौं। पछिल्लो ३८ महिना यताकै न्यूँन विन्दुमा झरेर नयाँ रेकर्ड राखेको शेयर बजारले सोमबार भने केहि सुधार गर्दै आशा जगाएको छ । सोमबार नेप्से परिसूचक ७.४१ अंकले सुधार भएको छ । 

 

आज शेयर बजार ७.४१ अंकले सुधार हुँदै १,१०९.७३ विन्दुमा कायम भएको छ । 

यस कारोबार दिन १६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर किनबेच हुँदा २० करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

यस दिन कारोबारमा आएका १० उप सूचक मध्ये वित्त समूहको सूचक मात्र ०.६५ अंकले ऋणात्मक रहेको छ भने अन्य सबै समूहका सूचक उकालो लागेका छन् ।

 

नेपाल धितोपत्र बोर्डले आगामी वैशाख देखि शेयर कारोबारमा प्यान अनिवार्य नहुने  प्रवधान खुल्ला गरेपछि लगानीकर्ताको मनोबल बढ्दा यसको प्रभाव सोमबारको शेयर बजारमा देखिएको हो । 

 

बोर्डले सोमबार एक कार्यक्रम गरी बैशाख देखि शेयर खरिदमा प्यान अनिवार्य नगरी ऐच्छिक गर्न पहल गर्ने आश्वासन लगानीकर्तालाई दिएको थियो ।  यो खबरहरु बाहिरनासाथ १०९९.९८ अंकमा झरेको बजार एकाएक फर्किएको छ । 

 

तर बजारमा नियमित कारोबार गर्ने बाहेक नयाँ लगानीकर्ताहरु देखिएका छैनन्। उनीहरुले कम्पनी हेरेर छानी छानी शेयर खरिद बिक्री गरिरहेका छन्।

 

सोमबार र्निजीवन बीमा समूहको सूचक सबैभन्दा धेरै अर्थात ७२.१७ अंकले बढेको छ । जीवन बीमा ६०.०२, उत्पादन तथा प्रशोधन २०.३७, अन्य १०.५८, लघुवित्त १०.५१, जलविद्युत ५.१३, बैंकिङ्ग ४.०७, विकास बैंक २.२७ र होटल समूहको सूचक १.५२ अंकले सकारात्मक भयो ।

 

यस दिन कारोबार रकमको आधारमा नबिल बैंकको सबैभन्दा धेरै ३१ हजार ६२२ कित्ता शेयर दुई करोड ५० लाख रुपैयाँमा किनबेच भयो भने शेयर संख्याको आधारमा माथिल्लो तामाकोशीको सबै भन्दा धेरै अर्थात ३५ हजार ५०८ कित्ता शेयर ७८ लाख ८६ हजार रुपैयँमा खरिदबिक्री भएको छ ।

 

त्यस्तै आधा मूल्यभन्दा तल झरेको आखु खोला जलविद्युत कम्पनीका शेयरधनीहरुले आज ६ प्रतिशतले कमाएका छन्। कम्पनीको बजार मूल्य ८२ रुपैयाँ पुगेको छ।  

शेयर बजार

विशेष