साहित्य आज

राष्ट्रकविलाई महाअभिनन्दन

राष्ट्रकविलाई महाअभिनन्दन

काठमाडौं ।  डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई ‘डा. हर्षबहादुर बुढामगर स्मृति महाअभिनन्दन–२०७५’ बाट सम्मान गरेको छ । घिमिरे कार्यक्रममा उपस्थित हुन नसकेकाले उनलाई घरमै गएर महाअभिनन्दन गरिने प्रतिष्ठानले जनाएको छ । 

 

डा. हर्षबहादुर बुढामगरको आठौँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रतिष्ठानले सो सम्मान घोषणा गरेको हो । १५ वर्षको कलिलो उमेरमै बेलायती सेनामा भर्ती भएका बुढामगरले दोस्रो विश्वयुद्धका समयमा भारतको कस्मिरसहित विश्वका विभिन्न मुलुकमा वीरतापूर्वक लडेका थिए ।  

 

विश्वमा वीरता देखाएको भन्दै उनलाई नेपाल, बेलायत र भारतले विभिन्न पदक तथा सम्मानबाट विभूषित गरेका छन् । उनले २०४७ सालमा भारतबाट विद्यावारिधिको उपाधि पाउएका थिए । सैन्य जीवनबाट अवकाशपछि उनले विभिन्न कलेजको प्रिन्सिपल भई काम गरे । कविता, निबन्ध, उपन्यास गरी उनका २४ वटा कृति प्रकाशित छन् । 

 

कार्यक्रममा प्रतिष्ठानका संरक्षक दीपक बोहराले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति विशेष अभिनन्दन’बाट सम्मान गरे । 

 

त्यस्तै, कुलपति उप्रेती र संरक्षक बोहराले मोदनाथ प्रश्रितलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति बहुआयामिक अभिनन्दन’, शम्भुजीत बाँस्कोटालाई ‘डा हर्षबहादुर बुढामगर स्मृति सङ्गीत रत्न अभिनन्दन’ र धु्रवचन्द्र गौतमलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति आख्यान रत्न’ प्रदान गरे । 
कार्यक्रममा अरू विभिन्न क्षेत्रका २४ जनालाई डा हर्षबहादुर बुढामगर स्मृति भाषा साहित्य सम्मान, साहित्यिक पत्रकारिता सम्मान, देश सेवा सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान तथा कर्मवीर सम्मान प्रदान गरियो ।
 

विशेष