बैंकिङ

प्रभु बैंकको लाभांश संसोधन

प्रभु बैंकको लाभांश संसोधन

काठमाडौं । प्रभु बैंकले आफ्नो आभांश वितरणको प्रस्ताव संसोधन गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांश संसोधन गरेको हो । 


राष्ट्र बैंकबाट नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित बाँकी मुनाफाबाट मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात लाभांश संसोधन गर्नुपरेको बैंकले जनाएको छ ।

 

बैंक सञ्चालक समितिको माघ १७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले राष्ट्र बैंकको निर्देशन बमोजिम नियमनकारी कोषमा रकम छुट्याएर बाँकी मुनाफाबाट ८ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

 

यसअनुसार बैंकले ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँको ८ प्रतिशत अर्थात ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

संसोधित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ ।

प्रभुको बोनस पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

 

यसअघि बैंकको पुस २२ गते सम्पन्न सञ्चालक समितिको १३५ औं बैठकले ५ प्रतिशत बोनस शेयर र कर सहित ५.२३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरि स्वीकृतीका लागि राष्ट्र बैंक पठाएको थियो । राष्ट्र बैंकले अस्वीकृत गरेपछि बैंकले बोनसदर परिमार्जन गरेको हो ।

प्रभु बैंक

विशेष