महालक्ष्मी लाइफको कारोवार आइतबारदेखि
काठमाडौं । देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रूपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ। राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरूप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी आवधिक बीमा योजना बिक्री गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए।
'महालक्ष्मी डबल आवधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ', लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै फिर्ता गरिने योजना सुनाउँदै उनले भने।
त्यसैगरी महालक्ष्मी आवधिक बीमा योजनाअन्तर्गत न्यूनतम बीमा शुल्कमा सुरक्षा पाइने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने व्यवस्था मिलाइएको उनले जानकारी दिए। कम्पनीले यही माघ महीनाभित्रै काठमाडौं, वीरगञ्ज र पोखराबाट कारोवार थाल्ने तथा इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो सातामा कारोवार सञ्चालन गर्ने जनाएको छ। कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ छ भने संस्थापकबाट एक अर्ब ४० करोड रूपैयाँ चुक्ता भइसकेको छ। कम्पनीले भने ६० करोड सर्वसाधारणका लागि छुट्याइएको बताइको छ।
महालक्ष्मी लाइफ