अर्थ

प्रदूषण कर हट्यो, घरबहाल कर बढ्यो

प्रदूषण कर हट्यो, घरबहाल कर बढ्यो

इलाम : जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो ।

 

संघीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । संघीय अर्थ मन्त्रालयमार्फत् नै यो कर उठाउन आदेश आएपछि आफूहरूले यो कर उठाउन थालेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

 

यस नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदुषण नियन्त्रण कर भनेर लिँदै आएको थियो । अब फागुन १ गतेबाट सो कर नलिने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताए ।

 

त्यस्तै नगर कार्यपालिकाको बैठकले घरबहाल कर बढाउने निर्णय गरेको छ । हालसम्म इलाम नगरपालिकाले घरबहाल कर भनेर सात प्रतिशत लिँदै आएको थियो । अब आउँदो आर्थिक वर्षबाट घरबहाल कर १० प्रतिशत लिइने नगरप्रमुख बस्नेतले जानकारी दिए । प्रदेश सरकारबाट नै न्यूनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर बढाउन लागिएको प्रमुख बस्नेतको भनाइ छ ।

 

निःशुल्क शिविरमा पन्ध्र सयको स्वास्थ्य जाँच

इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा दुईदिने स्वास्थ्य शिविरमा १५ सयले स्वास्थ्य जाँच गराएका छन् । देउमाई नगरपालिका–४ वडा कार्यालयको आयोजनामा भएको शिविरमा जिल्लाका १५ सयले स्वास्थ्य जाँच गराएका हुन् ।

 

शिविर बुधबारबाट शुरु भएर बिहीबार सकिएको हो । स्थानीय मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा मुटुरोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, मानसिक तथा नसारोग, हाडजोर्नी, छाला तथा यौन, नाक कान, घाँटी, आँखा र दन्त रोगसम्बन्धी परीक्षण तथा भिडियो एक्सरे, इसीजी साथै ल्याब टेष्ट निःशुल्क सेवा उपलब्ध गराइएको थियो । अपेक्षाबमोजिम नै स्थानीयवासीले सेवा लिन आएको वडाध्यक्ष राजेन्द्र वाँस्तोलाले जानकारी दिए । शिविरमा नोबेल अस्पताल विराटनगरका चिकित्सकसहित २५ स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

घर भाडा

विशेष