छोरीज्वाइँका हत्या अभियुक्तलाई १० वर्ष कारागार

सप्तरी । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दीपेन्द्रकुमार मण्डलको हत्या आरोपमा उनका ससुरा रामदयाललाई १० वर्ष कैद सजायको फैसला भएको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।
हत्या आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेकी मृतककी श्रीमती २३ वर्षीया अञ्जना साहलाई भने अदालतले सफाइ दिएको छ । जिल्ला अदालतको आदेशमा रामदयाल र उनकी छोरी अञ्जना गत असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
दीपेन्द्रलाई गत जेठ २९ गते राति हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई पक्राउ गरी कर्तव्यज्यानको मुद्दा चलाएको थियो ।
किशोरद्वारा आत्महत्या
राजविराजमा बुधबार एक किशोरले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए ।
राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कपडाको गम्छाको पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् । नजीकैको ह्याप्पी ल्याण्ड सेकेण्डरी माविमा कक्षा नौमा अध्ययनरत यादवले एकोहोरा प्रेम असफल भएका कारण आत्महत्या गरेको उनका साथीहरुले बताएका छन् ।
शव फेला
कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वमा एक महिलाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुशेश्वर चौधरीकी श्रीमती २५ वर्षीया माला चौधरीको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
घर पछाडिको बारीमा रहेको आँपको रूखको हाँगामा आफैँले लगाएको साडीको पासो लगाई झुण्डी मृत्यु अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रतीक विष्टले बताए ।
आत्महत्या कैद